मौसमको चेतावनी : देशभर वर्षा, चट्याङ र हुरीको सम्भावना



काठमाडौं,जेठ १५ । पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण देशका विभिन्न स्थानमा वर्षा, मेघगर्जन, चट्याङ र हुरी चल्ने सम्भावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली रहेको छ भने तराई भू–भागमा आंशिक बदली रहेको छ । अहिले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभर सामान्यतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अन्य हिमाली तथा पहाडी भू–भागका केही स्थान तथा मधेश प्रदेशसहित कोशी र बागमती प्रदेशका तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।

त्यसैगरी सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भू–भागका केही स्थानमा हुरी चल्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली रहने तथा अन्य भू–भागमा आंशिक बदली रहने पूर्वानुमान छ । सुदूरपश्चिम, लुम्बिनी, कर्णाली तथा बागमती, गण्डकी र कोशी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थान तथा मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका केही तराई तथा पहाडी क्षेत्रमा हुरी चल्न सक्ने सम्भावना रहेकाले महाशाखाले सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्