गणतन्त्रले दिएको अधिकार र एकताको प्रेरणा : राष्ट्रपति रामचन्द्र पौडेल
काठमाडौ,जेठ १५ । रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै गणतन्त्रले नेपाली जनतालाई राजनीतिक अधिकार सुनिश्चित गर्दै समुन्नत भविष्य निर्माणका लागि एकताबद्ध हुने अवसर प्रदान गरेको बताउनुभएको छ ।
उहाँले गणतन्त्रले देशवासीबीच एकताको भावना बलियो बनाएको उल्लेख गर्दै साझा राष्ट्र निर्माणको सङ्कल्पलाई प्रेरित गरेको बताउनुभयो ।
राष्ट्रपति पौडेलले जाति, भाषा, धर्म, सम्प्रदाय, सभ्यता र भूमिमाथिको स्वामित्वको अनुभूति गणतन्त्रले दिलाएको उल्लेख गर्दै यसलाई राष्ट्र निर्माणको महान् प्रेरणाका रूपमा व्याख्या गर्नुभयो ।
“यसले देशवासीलाई जोडेको छ, साझा राष्ट्र बनाउने सङ्कल्प अभिप्रेरित गरेको छ । यसले हामीलाई आफ्नो जाति, भाषा, धर्म, सम्प्रदाय, सभ्यता र भूमिको स्वामित्व दिएको छ । त्यसैले यो हाम्रा लागि राष्ट्र निर्माणको महान् प्रेरणा हो,” राष्ट्रपति पौडेलले भन्नुभयो ।

