मेस्सीको कप्तानीमा अर्जेन्टिनाको विश्वकप टोली घोषणा



एजेन्सी,जेठ १५ । आगामी जुन ११ देखि जुलाई १९ तारिखसम्म अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने फिफा विश्वकप–२०२६ का लागि अर्जेन्टिनाले २६ सदस्यीय टोली घोषणा गरेको छ । साविक विजेता अर्जेन्टिनाले बिहीबार राति लियोनल मेस्सीको कप्तानीमा टोली सार्वजनिक गरेको हो ।

३८ वर्षीय स्टार खेलाडी मेस्सीले यसपटक आफ्नो छैटौँ विश्वकप खेल्दै नयाँ इतिहास बनाउने भएका छन् । यससँगै उनले पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोसँग सर्वाधिक विश्वकप खेल्ने दुर्लभ कीर्तिमान बराबरी गर्नेछन् ।

सन् २०२२ को विश्वकप विजेता अर्जेन्टिना यसपटक समूह ‘जे’ मा परेको छ । उक्त समूहमा जोर्डन, अल्जेरिया र अस्ट्रिया रहेका छन् । अर्जेन्टिनाले असार ३ गते अल्जेरियासँग खेल्दै आफ्नो विश्वकप अभियान सुरु गर्नेछ ।

अर्जेन्टिनाको टोलीमा अनुभवी र युवा खेलाडीको संयोजन देखिएको छ । गोलरक्षकमा एमिलियानो मार्टिनेजसहित हुआन मुसो र जेरोनिमो रुल्ली रहेका छन् । रक्षापंक्तिमा क्रिस्टियन रोमेरो, लिसान्द्रो मार्टिनेज र निकोलस ओटामेन्डीजस्ता खेलाडी समावेश छन् ।

मिडफिल्डमा रोड्रिगो डे पल, एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर र जियोभानी लो सेल्सो रहेका छन् भने आक्रमणतर्फ जुलियन अल्भारेज, लौटारो मार्टिनेज र निकोलस गोन्जालेजले टोलीलाई बलियो बनाएका छन् ।

अर्जेन्टिनी विश्वकप टोली :

गोलरक्षक : हुआन मुसो, जेरोनिमो रुल्ली, एमिलियानो मार्टिनेज
रक्षक : लियोनार्डो बालेर्दी, निकोलस टाग्लियाफिको, गोन्जालो मोन्टियाल, लिसान्द्रो मार्टिनेज, क्रिस्टियन रोमेरो, निकोलस ओटामेन्डी, फाकुन्डो मेडिना, नाहुएल मोलिना

मिडफिल्डर : लियानद्रो पेरेडेस, रोड्रिगो डे पल, भालेन्टिन बार्को, जियोभानी लो सेल्सो, इजेकेल पलासियोस, एलेक्सिस म्याक एलिस्टर, एन्जो फर्नान्डेज

स्ट्राइकर : जुलियन अल्भारेज, लियोनल मेस्सी, लौटारो मार्टिनेज, निकोलस गोन्जालेज, थियागो अल्माडा, जुलियानो साइमन, निको पाज, जोसे म्यानुअल लोपेज ।

प्रतिक्रिया दिनुहोस्