चार दिने बिदामा मुस्ताङमा आन्तरिक पर्यटकको भारी चाप



मुस्ताङ,जेठ १५ । मुस्ताङमा लगातार चार दिनको सार्वजनिक बिदाका कारण स्वदेशी पर्यटकको उल्लेख्य चाप बढेको छ ।बेनी–जोमसोम–कोरला सडकमार्ग हुँदै एकै दिन झण्डै आठ हजार नेपाली पर्यटक मुस्ताङ प्रवेश गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार बिहीबार मात्रै सात हजार ८ सय २७ जना नेपाली पर्यटक सडकमार्ग हुँदै मुस्ताङ पुगेका हुन् ।बिहीबारदेखि आइतबारसम्म परेको लामो बिदा मनाउन देशका विभिन्न स्थानबाट पर्यटक मुस्ताङ पुगेका प्रहरीले जनाएको छ ।

सीमा प्रहरी चौकी घाँसाबाट चार हजार सात सय २३ जना पुरुष र तीन हजार एक सय चार जना महिला विभिन्न सवारीसाधनमार्फत मुस्ताङ प्रवेश गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक बस्यालका अनुसार बिदाको समयमा मुस्ताङ घुम्न आउनेको अत्यधिक भिड लागेको छ । लामो बिदा परेसँगै पर्यटकको चाप अझ बढ्ने अनुमान गर्दै प्रहरीले सडकखण्डमा गस्ती बढाउनुका साथै यात्रुहरूलाई सावधानी अपनाउन आग्रह गरेको छ ।

स्वदेशी पर्यटकको आगमनसँगै मुस्ताङका साना–ठूला होटल भरिभराउ भएका छन् । अधिकांश पर्यटक घाँसादेखि चीनको सीमा क्षेत्र कोरलासम्म पुग्ने गरेका छन् । माथिल्लो क्षेत्रमा जाने पर्यटकलाई लेक लाग्ने समस्या हुन सक्ने भएकाले सचेतनामूलक अभियानसमेत सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु लालचनका अनुसार स्वदेशी पर्यटकको बसाइ सामान्यतया दुईदेखि चार दिनसम्म हुने गरेको छ । उहाँले सार्वजनिक बिदा थपिएसँगै मुस्ताङमा पर्यटकको चहलपहल ह्वात्तै बढेको बताउनुभयो ।

यद्यपि, प्रतिकूल मौसम र बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दी खण्डमा बाढीपहिरोका कारण एकतर्फी सवारी सञ्चालन हुँदा यात्रुहरूले ट्राफिक जामको समस्या पनि खेप्नुपरेको छ । प्राचीन गुफा, मुस्ताङी कला–संस्कृति, गुम्बा, उजाड पहाड, अनौठो भू–दृश्य तथा आकर्षक पर्यटकीय गन्तव्यका कारण मुस्ताङ आन्तरिक पर्यटकको प्रमुख रोजाइ बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्