उज्यालो नेपाल र हाम्रो नेपाल पार्टीबीच एकता
काठमाडौं,जेठ १५ । उज्यालो नेपाल पार्टी र हाम्रो नेपाल पार्टीबीच औपचारिक रूपमा एकता भएको छ ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले शुक्रबार त्रिपुरेश्वरस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा दुई पार्टीबीच एकताको घोषणा गरेका हुन् । कार्यक्रममा अध्यक्ष घिसिङले हाम्रो नेपाल पार्टीका नेता तथा कार्यकर्तालाई उज्यालो नेपाल पार्टीमा स्वागत गरेका थिए ।
उनले उज्यालो नेपाल पार्टीलाई देशको बलियो वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने लक्ष्यसहित विभिन्न दलसँग एकता प्रक्रिया अघि बढाइएको बताए । यसअघि पनि उज्यालो नेपाल पार्टीले राष्ट्रिय परिवर्तन पार्टीसँग एकता गरिसकेको उनले उल्लेख गरे ।
अध्यक्ष घिसिङका अनुसार अहिले विभिन्न राजनीतिक दल, बुद्धिजीवी तथा विभिन्न पेशा–व्यवसायमा आवद्ध व्यक्तिहरू पनि उज्यालो नेपाल पार्टीमा समाहित हुने क्रममा रहेका छन् ।
एकता प्रक्रियामा सहभागी सबैलाई बधाई दिँदै उनले पार्टीको भावी योजना तथा सहमतिका विस्तृत विषयमा दुवै पार्टीका महासचिवहरूले थप जानकारी दिने बताए ।

