१० महिनामै ८८ अर्बभन्दा बढीको निर्यात, भटमासको तेल अग्रस्थानमा
पर्सा,जेठ १५ । चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपालबाट रु ८८ अर्ब २२ करोड बराबरका वस्तु तथा सामान निर्यात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा रु ८३ अर्ब २५ करोड बराबरको निर्यात भएको थियो।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्ट ले राससलाई दिएको जानकारीअनुसार यस वर्ष निर्यात व्यापारमा वृद्धि देखिएको हो।
तथ्याङ्कअनुसार सबैभन्दा बढी रु ४८ अर्ब ११ करोड बराबरको भटमासको प्रशोधित तेल निर्यात भएको छ। यस्तै, रु पाँच अर्ब ३५ करोडको प्रशोधित सूर्यमुखी तेल र रु छ अर्ब ४२ करोड बराबरको फलफूलको रस विदेश निर्यात गरिएको छ।
त्यसैगरी, रु तीन अर्ब तीन करोड बराबरका कपडा तथा रु दुई अर्ब २५ करोड बराबरको ‘सिन्थेटिक यार्न’ निर्यात भएको तथ्याङ्कमा उल्लेख छ।

