३१ सरकारी निकाय खारेज गर्ने सरकारको घोषणा
काठमाडौं,जेठ १५ । सरकारले विभिन्न ३१ वटा सरकारी निकाय खारेज गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले प्रशासनिक संरचनामा व्यापक पुनःसंरचना गरिने जानकारी दिनुभएको हो ।
शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै उहाँले ३१ निकाय खारेज गरिनुका साथै छ वटा निकाय मर्ज गरिने, छ वटा निकाय अन्यत्र हस्तान्तरण गरिने तथा १८ वटा निकायको पुनःसंरचना गरिने बताउनुभयो ।
अर्थमन्त्री वाग्लेले कर्मचारीतन्त्रलाई मर्यादित जीवनयापन गर्न सक्षम, कार्यसम्पादनमा कुशल र थप जवाफदेही बनाउने उद्देश्यसहित राष्ट्रसेवक तथा सुरक्षा निकायका कर्मचारीको सेवासुविधा क्रमशः वृद्धि गर्ने व्यवस्था मिलाइएको पनि जानकारी दिनुभयो ।
उहाँले आगामी आर्थिक वर्षमा सरकारको साधारण खर्चमा कडा मितव्ययिता अपनाइने उल्लेख गर्दै सार्वजनिक खर्चलाई प्रभावकारी र नतिजामुखी बनाउने नीति लिइएको बताउनुभयो ।

