नेपाल विद्युत् प्राधिकरण पुनर्संरचना हुने, तीन अलग कम्पनीमा रूपान्तरण गरिने
काठमाडौँ, जेठ १५ — सरकारले नेपाल विद्युत् प्राधिकरणको पुनर्संरचना गर्ने भएको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै प्राधिकरण पुनर्संरचनाबारे जानकारी दिनुभएको हो।
उहाँका अनुसार नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् उत्पादन, प्रसारण र व्यापारका लागि तीन छुट्टाछुट्टै कम्पनीमा रूपान्तरण गरिनेछ। यसबाट विद्युत् क्षेत्रलाई अझ प्रतिस्पर्धी, पारदर्शी र प्रभावकारी बनाउने सरकारको लक्ष्य रहेको छ।
त्यसैगरी सरकारले ऊर्जा क्षेत्रमा निजी क्षेत्रको भूमिका विस्तार गर्ने नीति लिएको छ। निजी क्षेत्रलाई समेत अन्तर्राष्ट्रिय बजारमा विद्युत् व्यापार गर्न सक्ने वातावरण तयार गरिने अर्थमन्त्री वाग्लेले बताउनुभयो।सरकारले यसका लागि आगामी आर्थिक वर्षको बजेटमै आवश्यक कानुनी तथा संरचनागत व्यवस्था मिलाउने जनाएको छ।

