काठमाडौं उपत्यकालगायत प्रमुख सहरलाई धुलोमुक्त र खाल्डाखुल्डीमुक्त बनाइने



काठमाडौँ,जेठ १५— सरकारले आगामी आर्थिक वर्षदेखि काठमाडौं उपत्यकालगायत देशका प्रमुख सहरका सडकलाई धुलोमुक्त तथा खाल्डाखुल्डीमुक्त बनाउने लक्ष्य लिएको छ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्ले ले नियमित सडक मर्मतसम्भारलाई राष्ट्रव्यापी अभियानका रूपमा अघि बढाइने जानकारी दिनुभएको हो। उहाँका अनुसार यसका लागि २८ अर्ब ५२ करोड रुपैयाँ विनियोजन गरिएको छ।

सरकारले राजमार्गका उच्च जोखिमयुक्त क्षेत्रमा जलवायु अनुकूलित संरचना निर्माण गर्ने तथा पहिरोका कारण अवरुद्ध हुने सडकहरू तत्काल सञ्चालनमा ल्याउने व्यवस्था मिलाउने जनाएको छ। यसका लागि ३ अर्ब १७ करोड रुपैयाँ छुट्याइएको छ।

त्यसैगरी प्रमुख सडक चोकहरूमा ट्राफिक संकेत, चोक सुधार, सडक रेखाङ्कन, क्र्यास ब्यारेयर तथा डिभाइडर जडान र मर्मतलाई निरन्तरता दिइनेछ। सडक सुरक्षाका लागि २ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ।

यस्तै, बर्दिबासदेखि काठमाडौं–तराई–मधेस द्रुतमार्गको प्रारम्भ बिन्दुसम्म रेलमार्ग निर्माण अघि बढाइने सरकारको योजना छ।निर्माणाधीन बथनाहा–विराटनगर तथा जनकपुर–जयनगर–बर्दिबास रेलमार्गका बाँकी काम सम्पन्न गर्न पनि बजेट व्यवस्था गरिएको छ।महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्न सिसी क्यामेरासहितको ‘ब्लू बस सेवा’ सञ्चालन गर्ने तयारीसमेत सरकारले गरेको छ।

प्रतिक्रिया दिनुहोस्