पुनर्वासको माग गर्दै नुवाकोटका बाढीपीडित सडकमा, तीनै तहका सरकारलाई दबाब



नुवाकोट,कात्तिक १७ । भोटेकोशी–त्रिशूली बाढीबाट विस्थापित भएको ६८ दिन बितिसक्दा पनि पुनर्वासको प्रक्रिया सुरु नभएको भन्दै नुवाकोटका बाढीपीडित आक्रोशित बनेका छन् । राहतभन्दा पुनर्वास र जीवनयापनको सुनिश्चितता माग गर्दै पीडितहरूले सोमबार सदरमुकाम विदुरमा प्रदर्शन गरेका छन् ।

गत भदौ १० गते ल्हेन्दे खोलाबाट रसुवागढी हुँदै भोटेकोशी र त्रिशूली नदीमा मिसिएको विनाशकारी बाढीबाट प्रभावित नागरिकले उचित राहत, क्षतिपूर्ति तथा पुनर्स्थापना नपाएको भन्दै भोटेकोशी–त्रिशूली बाढीपीडित सरोकार समिति नुवाकोट गठन गरी संघर्षका कार्यक्रम सुरु गरेका हुन् ।

समितिको अगुवाइमा विदुरस्थित इलम प्रशिक्षण केन्द्रबाट सोमबार निस्किएको पीडितहरूको जुलुसले जिल्ला प्रशासन कार्यालय नुवाकोट, जिल्ला समन्वय समिति र विदुर नगरपालिकामा पुगेर छबुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ । पीडितहरूले शान्तिपूर्ण जुलुस तथा धर्नामार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

बाढीले घरबार, खेतबारी तथा परिवारका सदस्यसमेत गुमाएका पीडितले गैरसरकारी संस्थाबाट खाद्यान्न र त्रिपालजस्ता सामग्री पाए पनि सरकारी निकायबाट ६८ दिनसम्म प्रभावकारी सहयोग हुन नसकेको गुनासो गरेका छन् । सरकारले घोषणा गरेको घरभाडा सहायता रकमसमेत कतिपय परिवारले अझै प्राप्त नगरेको उनीहरूको भनाइ छ ।

समितिका संयोजक सूर्यबहादुर कँडेलले राहतभन्दा विस्थापित नागरिकको पुनर्वास र बाँच्ने आधार सुनिश्चित गर्नुपर्ने बताउनुभयो । पुनर्स्थापनाको प्रक्रिया अघि नबढेकाले संघर्षमा उत्रनुपरेको उहाँको भनाइ छ । तीनै तहका सरकारलाई दबाबमूलक कार्यक्रम सञ्चालन गरी बाढीपीडितको पुनर्स्थापनाका लागि पहल गरिने उहाँले बताउनुभयो ।

समितिले पुनर्स्थापना तथा जीवनयापनमा सहजीकरण, पीडितको वर्गीकरण र क्षतिपूर्ति, तथ्यांक संकलन तथा क्षतिको विवरण, राहत वितरण, विकास निर्माण, ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाको पुनर्निर्माण र पुनर्निर्माण प्राधिकरण गठनलगायतका माग अघि सारेको छ ।

यसैबीच, बाढीपीडित सरोकार समिति र विदुर नगरपालिकाबीच पीडितका समस्या, राहत तथा पुनर्स्थापनाका विषयमा विशेष छलफलसमेत भएको छ । विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बाढीपीडितका समस्या र पुनर्स्थापनाका विषयमा नगरपालिका सचेत रहेको बताउँदै तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।

उपप्रमुख प्रभा बोगटीका अनुसार गत भदौ १० गतेको बाढीबाट प्रभावित नागरिकको राहत, अस्थायी बसोबास तथा दीर्घकालीन पुनर्स्थापनाका विषयमा छलफल गरिएको छ । घरजग्गा तथा सम्पत्तिमा क्षति पुगेका परिवारको व्यवस्थापन र सहज जीवनयापनका लागि आवश्यक सहयोगमा नगरपालिका सकारात्मक रहेको उहाँले बताउनुभयो ।

समितिले जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, विदुर नगरपालिकामा प्रमुख राजन श्रेष्ठ तथा जिल्ला समन्वय समितिमा प्रमुख रजिन्द्रविक्रम सिंहठकुरीलाई ज्ञापनपत्र बुझाएको छ ।

समितिका उपसंयोजक अष्टमान डंगोलले बाढी प्रभावित नागरिकको कष्टकर जीवनयापनलाई यथाशीघ्र सम्बोधन गर्नु तीनै तहका सरकारको दायित्व भएको बताउनुभयो । अर्का उपसंयोजक सुरेन्द्रराज केसीले सरकारले घोषणा गरेका राहत तथा पुनर्निर्माणका काममा ढिलाइ भएको र कतिपय वास्तविक पीडितले अझै राहत पाउन नसकेको बताउनुभयो ।

समितिले प्रभावित क्षेत्रमा पुगेर पीडितका वास्तविक समस्या संकलन गर्ने, सम्बन्धित निकायसँग छलफल गर्ने तथा पुनर्निर्माण र पुनर्वासको काम शीघ्र अघि बढाउन दबाब सिर्जना गर्ने जनाएको छ ।

भोटेकोशी–त्रिशूली बाढीले नुवाकोटका विदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको थियो । जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार बाढीबाट चार स्थानीय तहका दुई हजार आठ सय ३१ घरमा क्षति पुगेको छ ।

सबैभन्दा बढी क्षति विदुर नगरपालिकामा भएको छ । बाढीले विदुर नगरपालिकाका दुई हजार पाँच सय ५४ घर, बेलकोटगढी नगरपालिकाका एक सय ९५ घर, तारकेश्वर गाउँपालिकाका ४८ घर र किस्पाङ गाउँपालिकाका ३४ घरमा क्षति पुर्‍याएको प्रशासनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार बाढीका कारण नुवाकोटमा दुई हजार सात सय २३ जना अझै बेपत्ता छन् । बेत्रावती, त्रिशूली, ढुंगे, तुप्चे, सोले, शान्तिबजार, देवीघाट र महादेवफाँटलगायतका क्षेत्र बाढीबाट अत्यधिक प्रभावित भएका छन् ।

विनाशकारी बाढी गएको दुई महिना बितिसक्दा पनि पुनर्वास र पुनर्निर्माणको काम प्रभावकारी रूपमा अघि बढ्न नसकेको भन्दै पीडितहरूले न्याय र सुरक्षित भविष्यको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्