सरकारद्वारा २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट विनियोजन, चालु खर्चकै हिस्सा झण्डै ६० प्रतिशत
काठमाडौं,जेठ १५ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपियाँ बराबरको बजेट विनियोजन गरेको छ ।
सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कुल विनियोजित बजेटमध्ये चालु खर्चतर्फ सबैभन्दा बढी हिस्सा छुट्याइएको जानकारी दिनुभयो ।
उहाँका अनुसार चालु खर्चका लागि १२ खर्ब ७० अर्ब ५८ करोड रुपियाँ (५९.८ प्रतिशत), पुँजीगत खर्चतर्फ ४ खर्ब ३१ अर्ब १० करोड रुपियाँ (२०.३ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ ४ खर्ब २२ अर्ब रुपियाँ (१९.९ प्रतिशत) विनियोजन गरिएको छ ।
सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपियाँको बजेट विनियोजन गरेको थियो । त्यसको तुलनामा आगामी आर्थिक वर्षको बजेटको आकारमा वृद्धि भएको देखिएको छ ।
बजेट संरचना अनुसार कुल विनियोजनमध्ये सबैभन्दा ठूलो हिस्सा चालु खर्चमा रहेको छ भने पुँजीगत खर्च र वित्तीय व्यवस्थापनतर्फ तुलनात्मक रूपमा कम हिस्सा छुट्याइएको छ ।

