तादीमा दोस्रो उपाध्यक्ष कप छात्रा भलिबल प्रतियोगिता सुरु, महिला सशक्तीकरणमा जोड



तादी, जेठ १६ – गणतन्त्र दिवस तथा सगरमाथा दिवसको अवसरमा तादी गाउँपालिकाको समन्वय र ग्रीनतारा फाउण्डेशनको आयोजनामा अन्तर–स्कुलस्तरीय दोस्रो उपाध्यक्ष कप छात्रा भलिबल प्रतियोगिता शुक्रबार उद्घाटन गरिएको छ।

तादी गाउँपालिकाका उपाध्यक्ष सन्जु प्याकुरेलको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सभा सदस्य राधिका तामाङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा जिल्ला समन्वय प्रमुख रजिन्द्र विक्रम सिंह ठकुरी, प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मी, पञ्चकन्या गाउँपालिकाकी उपाध्यक्ष विमला केसी, दुप्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष माकुरी तामाङ, तादी गाउँपालिकाका निवर्तमान अध्यक्ष नारायण प्रसाद पाण्डे लगायतको विशेष उपस्थिति रहेको थियो।

त्यसैगरी नेपाल ग्रीनतारा फाउण्डेशनका संस्थापक तासी तेन्जिङ शेर्पा, फाउण्डेशनका अध्यक्ष बन्दी निमा, वडा अध्यक्ष अश्विनकुमार पाण्डे, विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका, सुरक्षाकर्मी, समाजसेवी तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

प्रतियोगितामा विभिन्न विद्यालयका छात्रा खेलाडी तथा विद्यार्थीहरूको उत्साहजनक सहभागिताले कार्यक्रमलाई थप आकर्षक र उल्लासमय बनाएको आयोजकले जनाएको छ।

महिला सशक्तीकरण, अनुशासन, आत्मविश्वास तथा खेल संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले विद्यार्थीहरूबीच आपसी भाइचारा, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस्