२१ खर्ब २४ अर्बको बजेट सार्वजनिक, ६ खर्ब ५७ अर्ब ऋण उठाउने सरकारको योजना
काठमाडौं,जेठ १६ । सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी वर्षको बजेट प्रस्तुत गर्नुभएको हो।
कुल बजेटमध्ये सबैभन्दा ठूलो हिस्सा चालु खर्चतर्फ विनियोजन गरिएको छ। सरकारले चालु खर्चका लागि १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ अर्थात् कुल बजेटको ५९.८ प्रतिशत छुट्याएको छ। यस्तै, विकास निर्माण तथा पूर्वाधार विस्तारका लागि पूँजीगत खर्चतर्फ ४ खर्ब ३१ अर्ब १० करोड रुपैयाँ अर्थात् २०.३ प्रतिशत बजेट विनियोजन गरिएको छ।
सरकारले वित्तीय व्यवस्थापनतर्फ ४ खर्ब २२ अर्ब रुपैयाँ विनियोजन गरेको छ। आन्तरिक तथा बाह्य ऋणको साँवा–ब्याज भुक्तानीका लागि मात्रै ४ खर्ब २२ अर्ब ६४ करोड रुपैयाँ अर्थात् कुल बजेटको १९.९ प्रतिशत खर्च हुने अर्थमन्त्री वाग्लेले जानकारी दिनुभयो।
बजेट कार्यान्वयनका लागि सरकारले १४ खर्ब ५ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ भने ६१ अर्ब ७४ करोड रुपैयाँ वैदेशिक अनुदान प्राप्त गर्ने अपेक्षा गरेको छ। तर राजस्व र अनुदानबाट प्राप्त हुने रकमले बजेट धान्न नसक्ने भएकाले करिब ६ खर्ब ५७ अर्ब २९ करोड रुपैयाँ स्रोत अभाव रहने देखिएको छ।
उक्त बजेट घाटा पूर्ति गर्न सरकारले वैदेशिक ऋणबाट २ खर्ब ४७ अर्ब २८ करोड रुपैयाँ र आन्तरिक ऋणबाट ४ खर्ब १० अर्ब रुपैयाँ उठाउने योजना अघि सारेको छ।
सरकारले प्रस्तुत गरेको बजेटमा चालु खर्चको हिस्सा उच्च रहँदा विकास खर्चको हिस्सा अपेक्षाकृत कम रहेको भन्दै यसको प्रभावकारी कार्यान्वयन र स्रोत व्यवस्थापनमा चुनौती रहने विश्लेषण गरिएको छ।

