महिलाको नेतृत्व र क्षमता राष्ट्र निर्माणको मुख्य आधार : राष्ट्रपति पौडेल



काठमाडौं, जेठ १६ । राष्ट्रपति रामचन्द्र पौडेल ले महिलाको क्षमता, सिर्जनशीलता र नेतृत्वलाई राष्ट्र निर्माणको मुख्य आधारका रूपमा स्थापित गर्दै मुलुकको समृद्धि तथा दिगो विकास हासिल गर्नु आजको आवश्यकता भएको बताउनुभएको छ।

आठौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले ‘महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान’ भन्ने आदर्श वाक्यले महिला सशक्तीकरण र लैङ्गिक समानता प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

उहाँले महिलामाथि हुने सबै प्रकारका विभेद, हिंसा तथा असमानताको अन्त्य गर्दै सम्मानजनक र सुरक्षित समाज निर्माण गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्नुभयो। घर, समाज, कार्यस्थल तथा निर्णय प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै लैङ्गिक समानता प्रवर्द्धन गर्न राज्य र नागरिक समाजबीच सहकार्य सुदृढ गर्न आवश्यक रहेको उहाँको भनाइ छ।

राष्ट्रपति पौडेलले महिला अधिकारको सुनिश्चितताका लागि योगदान पुर्‍याउने सबै व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गर्दै राष्ट्रिय महिला अधिकार दिवसले लैङ्गिक समानता र महिला अधिकारको पक्षमा भएका राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रयासलाई थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।

उहाँले सरकारले महिलाको श्रम, सीप, सिर्जनशीलता र क्षमतालाई विकास प्रक्रियाको मूलप्रवाहमा समाहित गरी आत्मनिर्भर बनाउने, स्रोत–साधन तथा अवसरमा समान पहुँच स्थापित गर्ने र निर्णय प्रक्रियामा सहभागिता अभिवृद्धि गर्ने नीति तथा कार्यक्रम कार्यान्वयन गरिरहेको उल्लेख गर्नुभयो।

राष्ट्रपति पौडेलका अनुसार शिक्षा, विज्ञान, प्रविधि, राजनीति, प्रशासन, कला तथा उद्यमका क्षेत्रमा नेपाली महिलाले उल्लेखनीय सफलता हासिल गरेका छन्। उहाँले सामाजिक सोच, शैली, प्रथा र परम्परामा सकारात्मक परिवर्तन ल्याई महिला सुरक्षा, सम्मान र अधिकार सुनिश्चित गर्न तथा लैङ्गिक समानतायुक्त सभ्य समाज निर्माण गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।

वि.सं. २०६३ जेठ १६ गते तत्कालीन पुनःस्थापित प्रतिनिधिसभाले महिलाका अधिकारसम्बन्धी चार महत्वपूर्ण विशेष प्रस्ताव पारित गरेको दिनको स्मरणमा हरेक वर्ष जेठ १६ गते राष्ट्रिय महिला अधिकार दिवस मनाइँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्