राइड–सेयरिङ सेवामा एक प्रतिशत अग्रिम कर असुल गर्ने व्यवस्था



काठमाडौं,जेठ १६  । सरकारले आर्थिक विधेयक २०८३ मार्फत राइड–सेयरिङ सेवामा अग्रिम कर असुल गर्ने नयाँ व्यवस्था लागू गरेको छ।

आर्थिक विधेयकमार्फत आयकर ऐनको दफा ९५ मा संशोधन गर्दै सरकारले राइड–सेयरिङ सेवा सञ्चालन गर्ने कम्पनी (राइड–सेयरिङ अपरेटर)लाई आफ्ना प्लेटफर्ममा आबद्ध सेवा प्रदायकबाट अग्रिम कर असुल गर्ने व्यवस्था गरेको हो।

विधेयकअनुसार बासिन्दा राइड–सेयरिङ सेवा सञ्चालन गर्ने व्यक्तिले आफ्नो प्लेटफर्ममार्फत सेवा प्रदान गर्ने प्राकृतिक व्यक्तिलाई भुक्तानी गर्दा सेवा वापतको रकमबाट एक प्रतिशतका दरले अग्रिम कर कट्टी गर्नुपर्नेछ।

सरकारले डिजिटल माध्यमबाट सञ्चालन हुने यातायात तथा राइड–सेयरिङ सेवाको कर प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउन यस्तो व्यवस्था ल्याएको जनाएको छ। नयाँ प्रावधान कार्यान्वयनमा आएपछि राइड–सेयरिङ प्लेटफर्ममा आबद्ध चालक तथा सेवा प्रदायकको आम्दानी करको दायरामा थप व्यवस्थित रूपमा आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्