शेयर र घरजग्गा कारोबारमा पुँजीगत लाभकर वृद्धि
काठमाडौँ,जेठ १६। सरकारले आर्थिक विधेयक २०८३ तथा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत् शेयर तथा घरजग्गा कारोबारमा लाग्ने पुँजीगत लाभकरको दर बढाएको छ।
शुक्रबार संघीय संसद्मा प्रस्तुत आर्थिक विधेयकअनुसार सूचीकृत कम्पनीका धितोपत्र बिक्रीबाट प्राप्त लाभमा लाग्ने करलाई अन्तिम कर मानिने व्यवस्था कायम राख्दै करको दर वृद्धि गरिएको हो। नयाँ व्यवस्थाअनुसार एक वर्षभन्दा बढी समय स्वामित्वमा राखिएको शेयर बिक्री गर्दा प्राप्त हुने लाभमा ७.५ प्रतिशत र एक वर्षभन्दा कम अवधिमा बिक्री गर्दा १० प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्नेछ।
यसअघि आयकर ऐनअनुसार नेपाल धितोपत्र बोर्डमा सूचीकृत संस्थाको शेयर बिक्रीबाट प्राप्त लाभमा ३६५ दिनभन्दा बढी स्वामित्व रहेको अवस्थामा ५ प्रतिशत तथा ३६५ दिनभन्दा कम अवधिको स्वामित्वमा ७.५ प्रतिशत कर लाग्ने व्यवस्था थियो।
त्यस्तै, घरजग्गा कारोबारमा लाग्ने पुँजीगत लाभकर पनि बढाइएको छ। यसअघि पाँच वर्ष वा सोभन्दा बढी समय स्वामित्वमा रहेको जग्गा तथा भवन बिक्री गर्दा ५ प्रतिशत र पाँच वर्षभन्दा कम अवधिको स्वामित्वमा ७.५ प्रतिशत लाभकर लाग्ने व्यवस्था रहेको थियो।
आर्थिक विधेयकमार्फत् उक्त व्यवस्था संशोधन गर्दै अब पाँच वर्षभन्दा बढी समय स्वामित्वमा रहेको घरजग्गा बिक्री गर्दा ७.५ प्रतिशत र पाँच वर्षभन्दा कम अवधिमा बिक्री गर्दा १० प्रतिशत पुँजीगत लाभकर लाग्ने व्यवस्था गरिएको छ।
यस्तै, सरकारले विकास निर्माण आयोजना सञ्चालनका लागि जग्गा प्राप्ति गर्दा घरजग्गा रजिष्ट्रेसनका लागि निर्धारण गरिएको सरकारी मूल्याङ्कनसम्मको रकममा भने पुँजीगत लाभकर नलाग्ने व्यवस्था गरिएको जनाएको छ।
सरकारको यो निर्णयसँगै आगामी आर्थिक वर्षदेखि शेयर बजार तथा घरजग्गा कारोबारबाट हुने नाफामा करको दायरा थप कडा हुने भएको छ।

