मध्यपहाडी राजमार्गमा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते
अछाम,जेठ १६ । अछामको पञ्चदेवल बिनायक नगरपालिका–४ थापामोडस्थित मध्यपहाडी राजमार्गमा गएराति जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
दार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको सत्लोक आश्रम, जनकपुरको बाप्र ०१–०२७ च २२७७ नम्बरको जिप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटनामा परेको हो।
दुर्घटनामा घाइते भएका मकवानपुरको हेटौँडा उपमहानगरपालिकाका ४१ वर्षीय नवीन तुलाधर र बर्दियाको बाँसगढी नगरपालिका–५ का ४५ वर्षीय रामप्रकाश थारुको उपचारका क्रममा प्रादेशिक अस्पताल सुर्खेतमा मृत्यु भएको अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो।
उहाँका अनुसार दुर्घटनामा सिराहाको कल्याणपुर नगरपालिका–१० का २७ वर्षीय सन्तकुमार साह, स्याङ्जाको फेदीखोला गाउँपालिका–४ का अर्जुनकुमार पौडेल तथा जिप चालक नेपालगञ्ज उपमहानगरपालिका–५ निवासी २८ वर्षीय राज राजेन्द्र भिमराज चट्टान गुप्ता घाइते भएका छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनापछि बेलखेतबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको तत्काल उद्धार गरी दैलेखको राकमस्थित राकम कर्णाली आधारभूत अस्पताल पुर्याएको थियो। त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि उनीहरूलाई प्रादेशिक अस्पताल सुर्खेत रिफर गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

