देशभर बदली, मेघगर्जनसहित वर्षा र हावाहुरीको सम्भावना



काठमाडौं, जेठ १६ — नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक सक्रिय रहेको न्यून चापीय रेखाको प्रभावका कारण देशका अधिकांश क्षेत्रमा मौसम बदली भएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पूर्णतया बदली रहेको छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली छ। केही स्थानमा मध्यम वर्षा पनि भइरहेको विभागले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेशसहित विभिन्न तराई क्षेत्रमा पनि थोरै स्थानमा वर्षा हुन सक्ने अनुमान गरिएको छ।

उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। साथै तराई र पहाडी भू–भागका केही स्थानमा हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। आज राति पनि सुदूरपश्चिम प्रदेशलगायत देशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहने मौसमविद्ले बताएका छन्। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

मौसमविद्हरूले वर्षा, चट्याङ, हावाहुरी तथा हिमपातका कारण दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्