स्थानीय तह निर्वाचन लक्षित गर्दै एमालेद्वारा केन्द्रीय सदस्यहरूको कार्यविभाजन



काठमाडौं, जेठ १६ — नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले केन्द्रीय सदस्यहरूको कार्यविभाजन टुंगो लगाएको छ। आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै पार्टीले सञ्चालन गर्न लागेको ‘पार्टी जागरण अभियान’ अन्तर्गत पदाधिकारीबाहेकका नेताहरूलाई पालिका केन्द्रित जिम्मेवारी तोकिएको हो।

गत जेठ ११ गते सम्पन्न एमाले सचिवालय बैठकले कार्यविभाजनसम्बन्धी प्रस्तावलाई अन्तिम रूप दिन अध्यक्ष केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेललाई अधिकार दिएको थियो। सोही निर्णयअनुसार अध्यक्ष ओलीले शुक्रबार अन्तरपार्टी निर्देशन जारी गर्दै अभियान घोषणा तथा ११औँ राष्ट्रिय महाधिवेशनपछिको पहिलो कार्यविभाजन सार्वजनिक गरेका हुन्।

कार्यविभाजनअनुसार अध्यक्ष ओलीले समग्र पार्टी गतिविधिको नेतृत्व गर्नेछन् भने महासचिव पोखरेलले संगठनात्मक कार्यको संयोजन तथा केन्द्रीय कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्नेछन्। उपाध्यक्ष र उपमहासचिवहरूलाई विभिन्न विभाग तथा फाँटहरूको संयोजनको जिम्मेवारी दिइएको छ।

पार्टीका नौ सचिवमध्ये छ जनालाई प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ। सचिव हिक्मत कार्कीलाई कोशी प्रदेशसँगै विपद् व्यवस्थापन तथा स्वयंसेवा विभाग प्रमुख, पद्मा अर्याललाई संसदीय मामिला विभाग प्रमुख तथा भानुभक्त ढकाललाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिइएको पार्टी कार्यालयले जनाएको छ।

त्यसैगरी सचिव छविलाल विश्वकर्मालाई लुम्बिनी प्रदेश, खगराज अधिकारीलाई गण्डकी प्रदेश, यमलाल कँडेललाई कर्णाली प्रदेश, शेरधन राईलाई कोशी प्रदेश, डा. राजन भट्टराईलाई राजधानी विशेष प्रदेश तथा महेश बस्नेतलाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी तोकिएको छ।

यसैबीच, एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुखमा निरज आचार्यलाई नियुक्त गरिएको छ। पार्टीले नयाँ कार्यविभाजनमार्फत संगठन सुदृढीकरण र आगामी निर्वाचनको तयारीलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्