सेमिफाइनलमै रोकियो नेपालको यात्रा, मलेसियासँग २ विकेटले हार्दै एसियन गेम्स छनोट गुम्यो
काठमाडौं,जेठ १६ । नेपाल एसियन गेम्स महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा घरेलु टोली मलेसियासँग पराजित हुँदै प्रत्यक्ष छनोटको अवसरबाट वञ्चित भएको छ। शनिबार मलेसियाको बायुमास ओभल मैदानमा सम्पन्न खेलमा नेपाल दुई विकेटले पराजित भएको हो।
यस हारसँगै नेपाल फाइनल पुग्न असफल रह्यो भने मलेसिया र थाइल्यान्डले एसियन गेम्सका लागि स्थान सुरक्षित गरेका छन्। अब नेपालले तेस्रो स्थानका लागि चीनसँग प्रतिस्पर्धा गर्नेछ।
नेपालले दिएको १ सय २७ रनको लक्ष्य मलेसियाले १८.४ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो। मलेसियाको जितमा एल्सा हन्टरले सर्वाधिक ४८ रनको योगदान दिइन्। धनुश्री मुहुननले २१, आइना हमिजाले १८ तथा माहिरा इजातीले १४ रन जोडिन्।
नेपालका लागि रिया शर्माले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिइन्। मनिषा उपाध्याय र रुबिना क्षेत्रीले समान २–२ विकेट हात पार्दा सीता रानामगरले १ विकेट लिइन्।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २६ रन बनाएको थियो। कप्तान इन्दु बर्माले अविजित ४६ रनको महत्वपूर्ण इनिङ्स खेलिन्। कविता कुँवरले ३३, रुवि पोदारले १७ तथा पूजा महतोले १५ रनको योगदान दिइन्।
मलेसियाका लागि विनिफ्रेड दुराइसिङ्गामले २ विकेट लिँदा आइसा एलिसा र माहिरा इजातीले समान १–१ विकेट लिए। नेपालले प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरे पनि अन्तिम समयमा खेल आफ्नो पक्षमा पार्न नसक्दा फाइनल पुग्ने अवसर गुमाएको हो।

