बोरामा पोको पारिएको अवस्थामा महिलाको शव भेटियो
झापा, जेठ १६ — झापाको दमक नगरपालिका–१० स्थित सेतुमारी क्षेत्रमा रहेको रतुवा खोलाको पुलमुनी बगिरहेको पानीमा एक महिलाको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शनिबार बिहान करिब ११ बजे अन्दाजी ३०–३२ वर्षीया महिलाको शव शंकास्पद अवस्थामा फेला परेको हो। शव २–३ दिनअघिदेखि पानीमा रहेको अनुमान गरिएको छ। मृतकले रातो भेष्ट र जिन्सको पाइन्ट लगाएकी थिइन् भने शवलाई सेतो प्लास्टिकको बोरामा पोको पारिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायव उपरीक्षकको नेतृत्वमा अनुसन्धान टोली घटनास्थलमा पुगेर सूक्ष्म अनुसन्धान थालेको छ।
हालसम्म मृतकको पहिचान खुल्न नसकेको र सनाखतसमेत हुन नसकेको प्रहरीले जनाएको छ। मृतकको बायाँ हातमा ट्याटु रहेको बताइएको छ।

