रास्वपा नुवाकोट शिवपुरीको अधिवेशन सम्पन्न, नरेन्द्र गोतामेको नेतृत्वमा नयाँ कार्यसमिति चयन



नुवाकोट,जेठ १६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शिवपुरी गाउँपालिका अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले नरेन्द्र गोतामेको नेतृत्वमा सर्वसम्मत रूपमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। कार्यसमितिको उपसभापतिमा रन्जु तामाङ, सचिवमा नवराज थापा रहेका छन् ।

अधिवेशनमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिना प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो। कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा स्थानीय प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तिमल्सिनाले देशको सबैभन्दा ठूलो शत्रु बिचौलिया र भ्रष्टाचार भएको बताउनुभयो। उहाँले सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट फरक ढंगले विनियोजन गरेको उल्लेख गर्दै यसपटकको बजेट सरल, सुन्दर र छोटो रहेको दाबी गर्नुभयो।

उहाँले सङ्घीय बजेटको उद्देश्य स्थानीय स्तरका साना–तिना निर्माण कार्यका लागि मात्र रकम छुट्याउनु नभई देशको समग्र राजस्व परिचालन, आर्थिक गतिविधि विस्तार तथा राष्ट्रिय विकासका प्राथमिकतालाई सम्बोधन गर्नु रहेको बताउनुभयो। गाउँको पर्खाल भत्किएको बनाउने जस्ता विषय स्थानीय तहको जिम्मेवारीभित्र पर्ने भन्दै सङ्घीय बजेट सम्पूर्ण नागरिकको हितका लागि तयार गरिएको बजेट भएको उहाँको भनाइ थियो।

मन्त्री तिमल्सिनाले नुवाकोटका लागि विनियोजन भएका योजनाहरूको विस्तृत विवरण रातो किताब सार्वजनिक भएपछि मात्र स्पष्ट हुने समेत जानकारी दिनुभयो।

नवनिर्वाचित अध्यक्ष नरेन्द्र गोतामेले पार्टी संगठनलाई गाउँपालिका स्तरमा थप सशक्त बनाउँदै जनताका मुद्दा र अपेक्षालाई प्राथमिकताका साथ उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। अधिवेशनले संगठन विस्तार, जनसम्पर्क वृद्धि तथा स्थानीय विकासका सवालमा सक्रिय भूमिका खेल्ने निर्णय समेत गरेको जनाएको छ।

कार्यक्रममा सहभागी वक्ताहरूले सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्धको अभियानलाई अझ प्रभावकारी बनाउँदै संगठनलाई जनतामाझ बलियो बनाउनुपर्नेमा जोड दिएका थिए। अधिवेशन सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्