नुवाकोट पञ्चकन्यामा नेपाल रेडक्रस उपशाखा भवनको शिलान्यास



नुवाकोट,जेठ १६ । नुवाकोटको पञ्चकन्या गाउँपालिकामा नेपाल रेडक्रस सोसाइटी पञ्चकन्या उपशाखाको भवन निर्माण कार्यको शिलान्यास सम्पन्न भएको छ।

नेपाल रेडक्रस सोसाइटी पञ्चकन्या शाखाका संयोजक उपेन्द्र कुइकेलको अध्यक्षतामा आयोजित कार्यक्रममा पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ (रमेश लामा) ले भवनको शिलान्यास गर्नुभएको हो।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाका मन्त्री उद्धव शर्मा रिजाल, पञ्चकन्या गाउँपालिका वडा नं. २ का वडाध्यक्ष रामशरण श्रेष्ठ तथा वडा नं. ३ का वडाध्यक्ष रामबाबु पराजुलीको विशेष आतिथ्यता रहेको थियो। साथै राष्ट्रिय स्वतन्त्र पार्टीका गाउँ कार्यसमिति अध्यक्ष रामचन्द्र कार्की, नेपाली कांग्रेसका पार्टी प्रतिनिधि बलराम कार्की, नेकपा एमालेका पार्टी अध्यक्ष रामनाथ खनाल तथा भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने ललितबहादुर कार्कीको समेत आतिथ्यता रहेको थियो।

पञ्चकन्या उपशाखाका सभापति बालकृष्ण पराजुलीद्वारा सञ्चालन गरिएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाका कोषाध्यक्ष नवराज सुवेदी, किस्पाङ शाखाका संयोजक रविन्द्रनाथ न्यौपाने लगायत विभिन्न शाखाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा पञ्चकन्या उपशाखा अन्तर्गतका कार्यसमिति पदाधिकारी, रेडक्रसका साधारण, आजीवन तथा विशिष्ट सदस्यहरू, साथै जुनियर तथा युथ रेडक्रस सर्कल (जुरेस/युरेस) का स्वयंसेवकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

भवन निर्माण सम्पन्न भएपछि रेडक्रसका मानवीय सेवा तथा विपद् व्यवस्थापनसम्बन्धी गतिविधिहरूलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्