थारु समुदायको अधिकार र प्रतिनिधित्वका लागि कांग्रेस प्रतिबद्ध : गगन थापा



काठमाडौं, जेठ १६ — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता पार्टीको पहिलो प्राथमिकता भएकाले जनताको पक्षमा कांग्रेस निरन्तर उभिने बताउनुभएको छ।

कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा शनिबार आयोजित नेपाल थारु सङ्घको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै सभापति थापाले राष्ट्रको एकीकरण र राष्ट्रिय एकता कायम गर्न थारु समुदायले खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। थारु समुदायका नागरिकलाई राज्यका निकायमा सहज पहुँच दिलाउन आफू प्रतिबद्ध रहेको उहाँले बताउनुभयो।

उहाँले बिपी कोइरालाले थारु समुदायप्रति विश्वास गर्दै जिम्मेवारीपूर्ण पदमा प्रतिनिधित्व गराएको स्मरण गर्दै थारु सङ्घ कांग्रेसको अभिन्न अङ्ग भएको बताउनुभयो। अधिवेशनबाट निर्वाचित हुने नयाँ नेतृत्वले पार्टीको क्रियाशील सदस्यता विस्तार र संविधान संशोधनको बहसमा सक्रिय भूमिका खेल्नुपर्ने उहाँको भनाइ थियो।

सभापति थापाले कांग्रेसले अर्थतन्त्र सुधारका लागि निरन्तर वकालत गर्दै आएको उल्लेख गर्दै चालु बजेटमा केही सकारात्मक सुधारका विषय समेटिए पनि न्यून आय भएका वर्गका आवश्यकताप्रति पर्याप्त ध्यान नदिइएको टिप्पणी गर्नुभयो।

कार्यक्रममा कांग्रेसका महामन्त्री प्रदीप पौडेलले थारु समुदायले नेपालको सीमा सुरक्षा तथा आर्थिक विकासमा पुर्‍याएको योगदान स्मरण गर्दै संविधानले सुनिश्चित गरेका अधिकारको रक्षा गर्दै समुदायलाई मूलधारमा थप सशक्त रूपमा स्थापित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

अर्का महामन्त्री गुरुराज घिमिरेले थारु समुदाय नेपालको मूलवासी समुदाय भएको उल्लेख गर्दै राजनीतिक अधिकार सुनिश्चित गर्न सबै एकताबद्ध हुनुपर्ने बताउनुभयो। उहाँले विविध जातजाति र राजनीतिक शक्तिलाई एकताको सूत्रमा बाँध्ने भूमिका कांग्रेसले निर्वाह गर्दै आएको दाबी गर्नुभयो।

कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले व्यक्तिवादी सोचभन्दा माथि उठेर देशभित्र रहेका सम्भावनाको पहिचान गर्दै समृद्धि र राजनीतिक उपलब्धिका लागि अघि बढ्नुपर्ने धारणा राख्नुभयो। सहमहामन्त्री योगेन्द्र चौधरीले नेपाल विविधता बोकेको देश भएकाले थारु समुदायसहित सबै नेपालीको राजनीतिक, आर्थिक र सामाजिक अधिकार सुनिश्चित गर्न ध्यान दिनुपर्ने बताउनुभयो।

प्रतिनिधिसभामा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले हिमाल, पहाड र तराईका नागरिकका अपेक्षा तथा चासोलाई सम्बोधन गर्दै पहिचानका मुद्दालाई राज्यका सबै तहमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो।

केन्द्रीय सदस्य गोपाल दहिदले राष्ट्रिय जनसङ्ख्याको करिब सात प्रतिशत थारु समुदाय भए पनि कांग्रेसभित्र उनीहरूको क्रियाशील सदस्यता तीन प्रतिशत मात्रै रहेको जानकारी दिनुभयो। थारु समुदायमाथि हुने आर्थिक, सामाजिक, राजनीतिक तथा शैक्षिक विभेदविरुद्ध नेपाल थारु सङ्घले निरन्तर आवाज उठाउँदै आएको उहाँले बताउनुभयो।

त्यसैगरी, केन्द्रीय सदस्य जीवन रानाले थारु समुदायको समृद्ध भाषिक, सांस्कृतिक इतिहास र पहिचानको चर्चा गर्दै आर्थिक–सामाजिक न्याय तथा राजनीतिक परिवर्तनमा समुदायको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।

पूर्वमन्त्री तेजुलाल चौधरीले संविधान जारी भएको ११ वर्ष बितिसक्दा पनि थारु समुदायलाई सरकारी सेवा, प्रदेश सरकारको मन्त्रिपरिषद् तथा राजनीतिक नेतृत्वमा अपेक्षाअनुसार समेट्न नसकिएको धारणा व्यक्त गर्नुभयो।

नेपाल थारु सङ्घको प्रथम महाधिवेशनमा सहभागी नेताहरूले थारु समुदायको अधिकार, प्रतिनिधित्व र सशक्तीकरणका विषयमा साझा प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्