बजेटप्रति उद्योगी–व्यवसायी उत्साहित, उत्पादन लागत घट्ने र अर्थतन्त्र चलायमान हुने अपेक्षा



चितवन, जेठ १६ । सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरेको बजेटप्रति उद्योगी–व्यवसायी तथा पेसाकर्मीहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्। बजेटले उद्योग, व्यवसाय, कृषि तथा सेवा क्षेत्रलाई प्रोत्साहन गर्ने व्यवस्था समेटेकाले आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ।

उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य सुमनकुमार श्रेष्ठले उद्योगलाई लक्षित गरी भन्सार दर घटाउने, अन्तःशुल्क हटाउने तथा कर प्रणालीलाई सरल बनाउने नीति स्वागतयोग्य भएको बताउनुभयो।

व्यक्तिगत आयकरमा राहत दिँदै वार्षिक रु ६ लाखको सीमा बढाएर रु १० लाख पुर्‍याइनु सकारात्मक कदम भएको उहाँको भनाइ छ। श्रेष्ठका अनुसार अधिकतम आयकर दर ३९ प्रतिशतबाट २९ प्रतिशतमा झारिएपछि चिकित्सक, इञ्जिनियरलगायत उच्च आम्दानी गर्ने पेसाकर्मी प्रत्यक्ष लाभान्वित हुनेछन्। साथै ३६० प्रकारका वस्तुमा अन्तःशुल्क हटाइएकाले उद्योग सञ्चालन सहज हुने अपेक्षा गरिएको छ।

उहाँले बजेटका कारण बजारमा उपभोग र माग बढ्ने सम्भावना रहेको उल्लेख गर्दै बैंकिङ, अटोमोबाइल तथा घरजग्गा क्षेत्रले पनि लाभ लिन सक्ने बताउनुभयो। देवघाटलगायत धार्मिक क्षेत्रको प्रवर्द्धन र भरतपुर विमानस्थल विस्तारसँगै रात्रिकालीन उडान सञ्चालनको योजनाले पर्यटन क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्ने उहाँको विश्वास छ।

बागमती प्रदेश उद्योग परिसङ्घका अध्यक्ष त्रिलोचन कँडेलले २७३ प्रकारका औद्योगिक कच्चापदार्थमा भन्सार दर घटाइएको र तयारी वस्तुभन्दा कच्चापदार्थ सस्तो बनाइएकाले उद्योगको उत्पादन लागत घट्ने बताउनुभयो। यसले घरेलु उद्योगलाई प्रतिस्पर्धी बनाउनुका साथै उत्पादन र निर्यात वृद्धि गर्न मद्दत पुग्ने उहाँको धारणा छ।

उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष राजन गौतमले बजेटलाई हालसम्मकै उत्कृष्ट बजेटको संज्ञा दिँदै यसले आमनागरिकको जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो। कृषि क्षेत्रमा दुई करोड रुपैयाँसम्म लगानी गर्ने किसानलाई ४० प्रतिशत अनुदान दिने व्यवस्थाले कृषिको व्यवसायीकरण र खाद्य सुरक्षामा टेवा पुग्ने उहाँको भनाइ छ।

गौतमले बजेटले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास व्यक्त गर्दै अब यसको प्रभावकारी कार्यान्वयनमा सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

यस्तै, च्याम्बर अफ कमर्स चितवनका अध्यक्ष गोपाल भट्टराईले बजेट आशावादी र तुलनात्मक रूपमा सकारात्मक रहेको प्रतिक्रिया दिनुभयो। मध्यमवर्गीय नागरिक, उद्योगी तथा व्यवसायीलाई सम्बोधन गरिएको भन्दै उहाँले बजेटको सफलताको आधार प्रभावकारी कार्यान्वयन हुने उल्लेख गर्नुभयो।

उद्योगी–व्यवसायीहरूले समग्रमा बजेटले उत्पादन, लगानी, रोजगारी र आर्थिक गतिविधि विस्तारमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्