तादी गाउँपालिकामा दोस्रो उपाध्यक्ष कप अन्तर–विद्यालयस्तरीय छात्रा भलिबल प्रतियोगिता सम्पन्न



नुवाकोट,जेठ १७ । गणतन्त्र दिवस तथा सगरमाथा दिवसको अवसर पारेर तादी गाउँपालिकाको समन्वय तथा नेपाल ग्रीनतारा फाउण्डेशनको आयोजनामा सम्पन्न दोस्रो उपाध्यक्ष कप अन्तर–विद्यालयस्तरीय छात्रा भलिबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

यही जेठ १५ र १६ गते आयोजित प्रतियोगिताले छात्राहरूमा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्नुका साथै आत्मविश्वास, नेतृत्व क्षमता र प्रतिस्पर्धात्मक भावना विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ। प्रतियोगिता महिला सशक्तीकरण, खेलकुद विकास तथा अनुशासित र स्वस्थ समाज निर्माण गर्ने उद्देश्यका साथ आयोजना गरिएको थियो।

तादी गाउँपालिकाकी उपाध्यक्ष तथा कार्यक्रम सभाध्यक्ष सन्जु प्याकुरेलले प्रतियोगिताको सफल आयोजनाका लागि नेपाल ग्रीनतारा फाउण्डेशनका संस्थापक तासी तेन्जिङ शेर्पा तथा फाउण्डेशनका अध्यक्ष बन्दी निमा शेर्पाप्रति विशेष आभार व्यक्त गर्नुभयो।उहाँले फाउण्डेशनले शिक्षा, खेलकुद र युवा विकासका क्षेत्रमा पुर्‍याउँदै आएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै छात्राहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो।उहाँले फाउण्डेशनको सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता तथा दूरदर्शी सोचले तादी गाउँपालिकाका विद्यार्थी र समुदायलाई थप प्रेरणा प्रदान गरेको बताउनुभयो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङको उपस्थिति रहेको थियो। साथै जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापक, शिक्षक, सुरक्षाकर्मी, सञ्चारकर्मी, समाजसेवी, स्थानीय नागरिक तथा विभिन्न विद्यालयका प्रशिक्षक र खेलाडी छात्राहरूको उल्लेखनीय सहभागिता रहेको थियो।प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गर्ने विद्यालय तथा खेलाडीहरूलाई बधाई दिँदै आयोजकले सहभागी सम्पूर्ण टोलीको खेल भावना, अनुशासन र उत्साहको प्रशंसा गरेको छ।

आयोजकले आगामी दिनमा पनि शिक्षा, खेलकुद, महिला सशक्तीकरण तथा सामाजिक विकाससँग सम्बन्धित यस्ता रचनात्मक कार्यक्रमहरूलाई निरन्तरता दिँदै सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्