भिजिट भिसा दुरुपयोग रोक्न कडा निर्देशन : प्रधानमन्त्री शाह



काठमाडौं, जेठ १७ — प्रधानमन्त्री वालेन्द्र शाहले ‘भिजिट भिसा’को दुरुपयोग रोक्न सम्बन्धित निकायलाई कडा निर्देशन दिइएको बताउनुभएको छ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले भिजिट भिसामा विदेश गएर कामका लागि अनुमति प्राप्त गरेपछि पुनः नेपाल फर्केर श्रम स्वीकृति लिनुपर्ने बाध्यता हटाउन श्रम मन्त्रालयले वैकल्पिक व्यवस्था तयार गरिरहेको जानकारी दिनुभयो। उहाँका अनुसार विदेशमै बसेर भिजिट भिसालाई श्रम भिसामा रूपान्तरण गर्न सकिने व्यवस्था गर्ने विषयमा मन्त्रालयले काम अघि बढाएको छ।

त्यसैगरी, आगामी आर्थिक वर्षको बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तामाथि ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णयबारे उठेको जिज्ञासामा प्रधानमन्त्री शाहले विद्युत् पूर्वाधारको क्षमता विस्तारका लागि उक्त कर आवश्यक रहेको स्पष्ट पार्नुभयो।

उहाँले देशभर विद्युतीय ऊर्जा प्रयोग बढ्दै गए पनि हालको ट्रान्सफर्मर, प्रसारण लाइन र सबस्टेसनको क्षमता पर्याप्त नरहेको उल्लेख गर्दै ती संरचनाको स्तरोन्नति तथा विस्तारका लागि अतिरिक्त स्रोत आवश्यक पर्ने बताउनुभयो। प्रधानमन्त्री शाहले ५० युनिटभन्दा माथि विद्युत् खपत गर्ने उपभोक्ताबाट संकलित भ्याट विद्युत् पूर्वाधार सुधार तथा क्षमता अभिवृद्धिमा खर्च गरिने जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्