विपक्षी गोलकिपरसँग ठोक्किएपछि स्पेनिस फुटबलर जिसस डे मिगेलको निधन



एजेन्सी,कात्तिक १८ । स्पेनिस फुटबल क्लब टेनेरिफका फरवार्ड जिसस डे मिगेलको विपक्षी टोलीका गोलकिपरसँग ठक्करपछि निधन भएको छ । सोमबार दोस्रो डिभिजनको खेलका क्रममा गम्भीर घाइते भएका ३० वर्षीय डे मिगेलको उपचारका क्रममा मृत्यु भएको हो ।

टेनेरिफ र एन्डोराबीचको खेल २–२ को बराबरीमा चलिरहेको थियो । निर्धारित समय सकिएपछि थपिएको सातौँ मिनेटमा बल नियन्त्रण गर्ने प्रयास गर्दा डे मिगेल एन्डोराका गोलकिपर जिसस ओवोनोसँग ठोक्किएका थिए । ठक्करका क्रममा ओवोनोको घुँडा डे मिगेलको छातीमा लागेको थियो ।

घटनापछि डे मिगेल मैदानमै ढलेका थिए । रेफ्रीले तत्कालै ओवोनोलाई रातो कार्ड देखाएका थिए । खेलाडीहरूले मेडिकल टोली बोलाएर डे मिगेलको उपचार गराएका थिए । गम्भीर दुर्घटनापछि खेलसमेत स्थगित गरिएको थियो ।

स्पेनिस सञ्चारमाध्यमका अनुसार अस्पताल लैजाने क्रममा एम्बुलेन्समै डे मिगेललाई हृदयाघात भएको थियो । उनलाई सान्ता क्रुजस्थित नुएस्ट्रा सेनोरा डे क्यान्डेलेरिया विश्वविद्यालय अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो । तर उपचारका क्रममा उनको ज्यान जोगाउन सकिएन ।

डे मिगेलको निधनपछि टेनेरिफ क्लबले मंगलबार शोक वक्तव्य जारी गर्दै उनलाई गुमाउनुपर्दा गहिरो पीडा भएको जनाएको छ । क्लबले मृतकका परिवार, आफन्त तथा समर्थकप्रति समवेदना व्यक्त गरेको छ ।

सन् २०१५ मा लेगानेस बीबाट व्यावसायिक फुटबल यात्रा सुरु गरेका डे मिगेलले स्पेनका विभिन्न आठ क्लबबाट खेलिसकेका थिए । सन् २०२३–२४ को सिजनमा १६ गोल गर्दै आफ्नो टोलीलाई दोस्रो डिभिजनमा बढुवा गराउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए ।

सन् २०२५ मा उनी तीन वर्षको सम्झौतासहित टेनेरिफ क्लबमा आबद्ध भएका थिए ।

प्रतिक्रिया दिनुहोस्