कात्तिक २५ गते बिहान ११ः०७ बजे भाइटीकाको उत्तम साइत
काठमाडौं,कात्तिक १८ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । समितिका अनुसार कात्तिक २५ गते बुधबार बिहान ११ः०७ बजे भाइटीकाको उत्तम साइत रहेको छ ।
समितिका अध्यक्ष प्रा. डा. पुरुषोत्तम भट्टराईले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरिएको जानकारी दिनुभयो । मध्याह्न कालमा टीका लगाउन कुनै बाधा नरहे पनि साइत खोज्नेहरूका लागि अभिजित् मुहूर्तको शुभ समय निर्धारण गरिएको उहाँले बताउनुभयो । राज्य सञ्चालकले भने निर्धारित साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ ।
यस वर्ष यमपञ्चक कात्तिक २० गते शुक्रबार धनत्रयोदशी (धनतेरस) बाट सुरु हुनेछ । कात्तिक २१ गते शनिबार काग तिहार तथा धन्वन्तरी जयन्ती मनाइनेछ । कात्तिक २२ गते आइतबार नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ ।
शास्त्रीय मान्यताअनुसार सायंकालमा औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्नुपर्ने भएकाले यस वर्ष कात्तिक २२ गते बेलुकी लक्ष्मीपूजा गरिने समितिले जनाएको छ । औँसी तिथिमा गरिने स्नान तथा दान भने कात्तिक २३ गते सोमबार बिहान गर्नुपर्नेछ ।
गाई, गोरु र आत्म (म्ह) पूजा कात्तिक २४ गते मंगलबार मनाइनेछ । कार्तिक शुक्ल प्रतिपदाको सायंकालमा आत्मपूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेकाले यस दिन म्ह पूजा गर्नुपर्ने समितिले जनाएको छ । विशेषगरी नेवार समुदायमा प्रचलित म्ह पूजा यसै दिन मनाइनेछ ।
नेपाल संवत् ११४७ को नयाँ वर्ष पनि कात्तिक २४ गतेबाट सुरु हुनेछ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय मान्यता रहेको छ । नेवार समुदायका पञ्चाङ्गकार सिद्धिलक्ष्मी व्यञ्जनकार, कीर्तिकिरण जोशी र शशिधर जोशीले पनि आफ्ना पात्रोमा कात्तिक २४ गते म्ह पूजा तथा नेपाल संवत्को नयाँ वर्ष उल्लेख गर्नुभएको छ ।
शास्त्रीय विधिअनुसार भाइपूजा तथा नेवारी भाषामा किजापूजा पनि कात्तिक २५ गते बुधबार नै मनाइनेछ । मध्याह्न कालमा भाइटीका लगाउने शास्त्रीय मान्यता रहेकाले सोही दिन टीका लगाउनु शास्त्रसम्मत हुने समितिको ठहर छ ।
अध्यक्ष भट्टराईका अनुसार शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको ‘भ्रातृ पूजा’ शब्दले दाजुभाइ दुवैलाई बुझाउँछ । भाइटीका भनिए पनि ज्येष्ठताको क्रमअनुसार टीका लगाउनु शास्त्रसम्मत हुने समितिले जनाएको छ ।
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने तिहारलाई यमपञ्चक भनिन्छ । यस अवधिमा कार्तिक कृष्ण त्रयोदशीको साँझदेखि कार्तिक शुक्ल द्वितीयाको साँझसम्म यमदीपदान गर्ने परम्परा छ । परिवारका सदस्यको सङ्ख्याका आधारमा नाम उच्चारण गर्दै यमदीपदान गरिन्छ । यमदीपदान गर्दा यमयातनाबाट मुक्ति पाइने शास्त्रीय विश्वास रहेको छ ।
तिहारमा काग र कुकुरलाई यमदूतका रूपमा मानेर मीठा परिकार खुवाउने वैदिक परम्परा पनि छ । उनीहरूलाई खुसी बनाए यमलोकमा सहयोग प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ ।

