नुवाकोटमा माओवादी केन्द्रका वडा अध्यक्ष श्याम पाण्डेको राजीनामा, रास्वपातर्फ जाने संकेत



काठमाडौँ, जेठ १८ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का शिवपुरी गाउँपालिका–७ का वडा अध्यक्ष तथा अखिल नेपाल ट्रेड युनियन महासंघ आबद्ध अखिल नेपाल स्वास्थ्य श्रमिक संघका केन्द्रीय उपाध्यक्ष श्याम पाण्डेले आफ्नो पदबाट राजीनामा दिएका छन्।

पाण्डेले सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गर्दै विद्यार्थी जीवनदेखि करिब २० वर्षसम्म राजनीतिक यात्रामा सहयोग र समर्थन गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्।

उनले आफ्नो कार्यकालमा क्षमता र पहुँचले भ्याएसम्म जनताको सेवा गर्ने प्रयास गरेको उल्लेख गर्दै आफ्ना काम–कारबाहीबाट कसैलाई कुनै प्रकारको मर्का परेको भए क्षमायाचना गरेका छन्। साथै, सहयोग, समर्थन र विश्वास गर्ने नागरिक तथा शुभेच्छुकहरूलाई धन्यवाद दिएका छन्।

पाण्डेले बदलिँदो राजनीतिक परिवेशअनुसार आफूले पनि राजनीतिक परिवर्तन आवश्यक ठानेको बताएका छन्। उनले अबको राजनीतिक यात्रा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट अघि बढाउने मनसाय रहेको जानकारी दिएका छन्।

साझापथसँगको कुराकानीमा उनले रास्वपाबाट राजनीतिक यात्रा सुरु गर्ने सोच बनाएको बताउँदै साथीभाइ तथा शुभेच्छुकहरूको सल्लाह–सुझावका आधारमा आगामी निर्णय लिने तयारीमा रहेको बताए।

प्रतिक्रिया दिनुहोस्