भारतका नवनियुक्त राजदूत सुधाकर दलेला नेपाल आइपुगे



काठमाडौं,कात्तिक १७ । नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला आफ्नो कार्यभार सम्हाल्न आज नेपाल आइपुग्नुभएको छ।

नेपालस्थित भारतीय दूतावासका अधिकारी तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूले राजदूत दलेलालाई स्वागत गर्नुभएको थियो।

सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गर्नुभएका दलेलाले आफ्नो कूटनीतिक सेवा इजरायलको तेल अभिभबाट सुरु गर्नुभएको हो। त्यसपछि उहाँले ब्रासिलिया, सिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डिसीस्थित भारतीय कूटनीतिक नियोगमा विभिन्न जिम्मेवारी सम्हाल्नुभएको छ।

दलेलाले सन् २०२२ देखि २०२५ सम्म भुटानका लागि भारतको राजदूतका रूपमा काम गर्नुभएको थियो। उहाँले भारतको प्रधानमन्त्री कार्यालयमा सन् २००९ देखि २०११ सम्म निर्देशकका रूपमा समेत जिम्मेवारी सम्हाल्नुभएको थियो। उक्त अवधिमा भारतका दक्षिण एसियाली छिमेकी, पूर्वी एसिया, हिन्द प्रशान्त क्षेत्र, खाडी, मध्यपूर्व तथा अफ्रिकी मुलुकसँगको सम्बन्ध र सहकार्यसम्बन्धी विषय हेर्नुभएको थियो।

नेपालका लागि भारतीय राजदूत नियुक्त हुनुअघि उहाँ भारतीय विदेश मन्त्रालयमा सचिव (आर्थिक सम्बन्ध) का रूपमा कार्यरत हुनुहुन्थ्यो। उक्त जिम्मेवारीमा उहाँले भारतको आर्थिक कूटनीति, विकास साझेदारी, बहुपक्षीय आर्थिक सम्बन्ध तथा रणनीतिक प्रविधिसम्बन्धी विषय हेर्नुभएको थियो।

यसअघि नेपालका लागि भारतका राजदूत रहनुभएका नवीन श्रीवास्तव आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किसक्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्