युवावर्गमा सामाजिक सञ्जालको नकारात्मक प्रभाव
• सदिच्छा भण्डारी
आधुनिकताको गर्भाधानबाट जन्मिएको प्रविधिको चामत्कारिक शिशु हो— सामाजिक सञ्जाल । आजको युगमा यो केवल सञ्चारको माध्यम मात्र रहेन मानव चेतना र विशेष गरी कलिलो युवामनलाई नियन्त्रण गर्ने एक अदृश्य, अभौतिक र सर्वव्यापी साम्राज्य बनेको छ ।
नीलो स्क्रिनको उज्यालोमा लुकेको यो एउटा यस्तो मोहनी ऐना हो जसले बाहिर तस्बिर त सुन्दर देखाउँछ तर भित्रभित्रै मानवीय संवेदना र मौलिक चिन्तनको हुटहुटीलाई निलिदिन्छ । नवयौवनको उर्जा, जो सिर्जना र क्रान्तिको संवाहक हुनुपर्ने थियो आज त्यही ऊर्जा सिलिकन भ्यालीका सङ्केत लिपिहरू (अल्गोरिदम) को बन्धक बनेको छ । यो डिजिटल फोहोरा बाहिरबाट जति आकर्षक र अमृतमय देखिन्छ, यसको गर्भमा युवा पुस्ताको मौलिकता, संस्कृति र मानसिक शान्तिलाई सिध्याउने कालकुट विष पनि उत्तिकै तीव्र गतिमा प्रवाहित भइरहेको छ ।
सामाजिक सञ्जालले युवामानसलाई एक यस्तो ऐन्द्रजालिक मरुभूमिमा छोडिदिएको छ, जहाँ उनीहरू अरूको कृत्रिम र सम्पादित जिन्दगीको रिल सँग आफ्नो वास्तविक रियल जीवन तुलना गरिरहेछन् । अरूका सुख, विलासिता र हाँसोका क्षणहरूलाई मात्र देख्दा आप्mनो सामान्य जीवन उनीहरूलाई निरस र व्यर्थ लाग्न थाल्छ । यो आत्म–हिनताको डढेलोले युवाहरूको आन्तरिक आत्मविश्वासलाई खरानी बनाइरहेको छ । लाइक र कमेन्ट को सङ्ख्यामाआफ्नो अस्तित्व र आत्मसम्मान खोज्ने यो आतुरता वास्तवमा कस्तुरी मृगले आफ्नै नाभीको सुवास नपाएर वनवन भौंतारिएको जस्तै एक दुःखद आत्म–विस्मृति हो । यौवन त्यो वसन्त हो, जहाँ कर्तव्यको जग बसाल्नुपर्छ र भविष्यको सुन्दर महलको परिकल्पना गर्नुपर्छ । तर, स्क्रोलिङ को अनन्त र अन्धकार सुरुङमा पसेपछि समय बालुवा सरि हातबाट फुत्किरहेको पत्तै हुँदैन । जीवन निर्माणका सुनौला क्षणहरू टिकटकका केही सेकेन्ड वा इन्स्टाग्रामका रिल्समा स्वाहा भइरहेका छन् । सिर्जनशीलताको यज्ञमा चढाइनुपर्ने समयको अमूल्य समिधा आज यी आभासी प्लेटफर्महरूमा निरर्थक स्वाइप गरेर भस्म भइरहेको छ, जसले युवाहरूलाई आफ्नो मुख्य लक्ष्य र राष्ट्रप्रतिको दायित्वबाट विमुख गराउँदै अनुत्पादकतातर्फ धकेलिरहेको छ ।
समाजिक सञ्जालले एकातिर सम्बन्धको मरुभूमिकरण गरेको छ भने अर्कोतिर यान्त्रिक सामिप्यता बढाएको छ । संसारलाई जोड्ने दाबी गर्ने यो प्रविधिले मानिसलाई आप्mनै परिवार र छिमेकबाट कति टाढा पुर्याइदियो त्यसको लेखाजोखा छैन । एउटै कोठामा बसेर पनि आमाबुबा र सन्तानबीच संवादहीनताको हिमाल ठडिएको छ । स्पर्शको न्यानोपन, आँखाको भाषा र वास्तविक उपस्थितिको मिठासलाई इमोजी का निर्जीव र यान्त्रिक प्रतीकहरूले विस्थापित गरिदिएका छन् ।
हजारौँ अनलाइन साथीहरू को भीडमा पनि आजको युवा नितान्त एक्लो छ । यो एउटा यस्तो विरोधाभास हो जहाँ सञ्जाल त जोडिएको छ तर मानवीय मनहरू सधैँका लागि विच्छेदित बन्दै गइरहेका छन् । सामाजिक सञ्जालले भ्रमको खेती र विवेकको चीरहरण गरेको छ । सामाजिक सञ्जाल आज सत्यको संवाहक होइन भ्रमको खेती गर्ने उर्वर भूमि बनेको छ । फेक न्युज र उत्तेजक सामग्रीहरूको बाढीले युवाहरूको विवेक र तर्कशीलतालाई बगाएको छ । गम्भीर पुस्तक पढ्ने र सत्यको गहिराइ नाप्ने धैर्यता युवाहरूमा हराउँदै गएको छ; उनीहरू त केवल १५ सेकेन्डका सस्ता र भ्रामक सूचनाका उपभोक्ता बनिरहेका छन् । वैचारिक परिपक्वता आउनुअगावै नकारात्मकता, साम्प्रदायिकता र घृणा फैलाउने सामग्रीहरूको निरन्तरको प्रहारले युवा मानसलाई उग्र, असहिष्णु र अराजक बनाउँदै लगेको छ, जसले समाजको सुसंस्कृत जगलाई नै हल्लाइदिएको छ ।
सामाजिक सञ्जाल मानसिक विचलनको कारक बन्न पुगेका भने अर्कोतिर यसले साइबर दलदलको पराधीनता बढाएको छ । नीलो स्क्रिनको निरन्तरको सामीप्यले युवाहरूमा गम्भीर मानसिक रोगका लक्षणहरू जन्माएको छ । अनिन्द्रा , एन्जाइटी र डिप्रेसन आजका युवाका अदृश्य साथी बनेका छन् । अझ साइबर बुलिङ ब्ल्याकमेलिङ र चरित्रहत्याका घटनाहरूले कयौँ कलिँदा फूलहरूलाई फक्रिनुअगावै ओइलाउन बाध्य पारेका छन् । यो यस्तो दलदल हो, जहाँ खुसी खोज्न पसेको युवा अन्ततः मानसिक पराधीनता र आत्मघाती सोचको शिकार हुन पुग्छ । प्रविधिको दास बन्दा मानव चेतना कति निरीह बन्दोरहेछ भन्ने कुराको ज्वलन्त उदाहरण आजको दिग्भ्रमित युवापुस्ता हो ।
निश्चय नै सामाजिक सञ्जाल आफैँमा अभिशाप होइन यो मानव मस्तिष्कले निर्माण गरेको आधुनिक हतियार मात्र हो । तर, जब हतियार विवेकहीनको हातमा पर्छ तब विनाश अवश्यम्भावी हुन्छ । प्रविधिको यो समुद्रमा डुबेर मोती टिप्ने कि फोहोरको शिकार बन्ने त्यो छनोट स्वयं युवापुस्ताकै हातमा छ । हामीले सञ्जाललाई जीवन चलाउने साधन बनाउनुपर्छ, जीवन नै चलाउने मालिक होइन । अब युवाहरूले यो आभासी पर्दालाई च्यातेर वास्तविक धरातलमा आउनैपर्छ; प्रकृतिसँग जोडिनुपर्छ, श्रमसँग नाता गाँस्नुपर्छ र विचारको दियो बाल्नुपर्छ । जबसम्म युवामानसले यो डिजिटल मातहत र मोहनी चक्रव्यूहबाट आफूलाई मुक्त गरेर आफ्नो अन्तर्निहित ऊर्जा पहिचान गर्दैन, तबसम्म न त व्यक्तिको उत्थान सम्भव छ, न त राष्ट्रको । विवेकपूर्ण प्रयोग नै यो अन्धकार सुरुङबाट बाहिर निस्कने एक मात्र प्रकाशपुञ्ज हो ।
(भण्डारी हाल जनज्ञान निकेतन माध्यमिक विद्यालय शिवपुरी ८, नुवाकोटमा कक्षा : ११ मा अध्ययनरतहुनुहुन्छ ।)

