बाढीले बगाएर ल्याएको शवका गहना लुट्ने नुवाकोटका पाँच युवक पक्राउ
नुवाकोट,भदौ २७। भोटेकोशी नदी हुँदै रसुवागढी नाकाबाट त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले बगाएर नुवाकोट ल्याएको महिलाको शवबाट सुनका गहना लुटेको आरोपमा पाँच जना युवक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार विदुर नगरपालिका–३ का पाँच युवकलाई शवबाट गहना चोरी गरेको आरोपमा पक्राउ गरिएको हो। पक्राउ परेकाविरुद्ध चोरीसम्बन्धी मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक इकवाल हवारीका अनुसार पक्राउ परेकाहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ। जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर उनीहरूमाथि अनुसन्धान अघि बढाइएको उहाँले जानकारी दिनुभयो।
स्थानीयवासीका अनुसार २० देखि ३० वर्ष उमेर समूहका ती युवकले देवीघाटस्थित फिर्केपमा बाढीले बगाएर ल्याएको महिलाको शवबाट रातिको समयमा टर्चलाइट बालेर गहना लुटेको आरोप छ। उनीहरूले शवका औँलासमेत काटेर गहना निकाल्ने प्रयास गरेको स्थानीयवासीले बताएका छन्।

