बाढी प्रभावित गल्छीको प्रचण्डद्वारा अनुगमन
धादिङ,भदौ २७ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोसी–त्रिशूली बाढीबाट प्रभावित धादिङको गल्छी गाउँपालिका क्षेत्रको अनुगमन गर्नुभएको छ।
अनुगमनका क्रममा संयोजक प्रचण्डले विपत्ति लगत्तै नेपाली कम्युनिस्ट पार्टीले बैठक बसेर खोज, उद्धार तथा राहतका लागि पहल गरेको बताउनुभयो। उहाँले बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
पूर्वप्रधानमन्त्री प्रचण्डले विपद् विज्ञ तथा पूर्वमन्त्री गंगालाल तुलाधरको नेतृत्वमा समिति गठन गरी आवश्यक काम अघि बढाइएको जानकारी दिनुभयो। समितिले प्रभावित क्षेत्रको अवस्था अध्ययन तथा आवश्यक सहयोगका लागि पहल गरिरहेको उहाँले बताउनुभयो।
अनुगमन टोलीमा माओवादी नेता हितबहादुर तामाङ केन्द्र तथा जिल्लास्तरका नेता, युवा संगठनका प्रतिनिधिलगायतको सहभागिता थियो।

