जिप दुर्घटनामा दुईजनाको मृत्यु, चार घाइते



सल्यान,भदौ २७ । सल्यानको त्रिवेणी गाउँपालिका–५, सिम्कमा बोलेरो जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

त्रिवेणी गाउँपालिका–५, सिम्कबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको लु.प्र. ०२००१ ज ०००५ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब ९० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

दुर्घटनामा त्रिवेणी गाउँपालिका–६, पोखरीका आठ वर्षीय रेशम बुढाथोकी र वडा नम्बर ५, सल्लेका १८ वर्षीया विपना बुढाथोकीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईका अनुसार गम्भीर घाइते दुवैजनाको सल्यान जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा जिप चालक त्रिवेणी गाउँपालिका–५, सिम्कका २४ वर्षीय भुपाल पुन, २९ वर्षीय पारस बोहरा, ४० वर्षीय डिल्लीबहादुर वली र ४२ वर्षीया लालमित बुढाथोकी घाइते भएका छन्।

घाइते चारैजनाको त्रिवेणी हेल्थ केयर, लुहाममा सामान्य उपचारपछि थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही रिफर गरिएको प्रहरीले जनाएको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्