जहाँ सडकले साथ छाड्यो, त्यहाँ आकाशबाट पुग्दैछ राहत



काठमाडौँ, भदौ २७ । रसुवाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा यतिबेला बेलाबेलामा ड्रोन देखिन्छ । राहत तथा अत्यावश्यक सामग्री बोकेर उड्ने ड्रोनतर्फ स्थानीयको नजर सहजै पुग्छ । केही समयअघिसम्म मानिस, घोडा र खच्चडले बोकेर पुर्‍याउने सामग्री अहिले ड्रोनमार्फत बस्तीमा पुग्न थालेको छ ।

भदौ १० गते आएको भोटेकोशी बाढीले सडक, पुल र अन्य संरचना बगाएपछि आमाछोदिङमो बाहिरी दुनियाँसँगको स्थल सम्पर्कबाट लगभग अलग भएको छ । सडकमार्ग बन्द भएपछि खाद्यान्न, औषधि, ग्यासलगायत अत्यावश्यक सामग्रीको अभाव बढ्दै गयो । यस्तो अवस्थामा दुर्गम बस्तीका लागि आकाश राहत पुर्‍याउने वैकल्पिक मार्ग बनेको छ ।

बाढीअघि आमाछोदिङमो हरियाली, हिमाली दृश्य, भोटेकोशीको कलकल आवाज र पर्यटकको चहलपहलले भरिएको थियो । पार्वतीकुण्डबाट नामकरण गरिएको यो गाउँपालिका चिलिमे, सान्जेन र त्रिशूली जलविद्युत् आयोजनाका कारण ऊर्जा क्षेत्रसँग पनि जोडिएको छ । तर बाढीले केही घण्टामै यहाँको परिचय बदलिदियो । सडक र विद्युत् सम्पर्क टुट्यो भने दुई सयभन्दा बढी नागरिक बेपत्ता भएका छन् ।

गाउँपालिका अध्यक्ष बुचुङ तामाङका लागि अहिले सबैभन्दा ठूलो चिन्ता बाँचेकालाई कसरी खाद्यान्न उपलब्ध गराउने भन्ने हो । “विपद् भयो, जे हुनु भइसक्यो । अब बाँचेकालाई भोकभोकै राख्नुभएन,” उहाँ भन्नुहुन्छ । सडक बगेपछि खाद्यान्न, औषधि र ग्यास गाउँसम्म पुर्‍याउन कठिन भएपछि केन्द्र सरकारसँग सहयोग मागिएको थियो । हेलिकप्टरबाट सामग्री पुर्‍याउने प्रयास भए पनि सबै ठाउँमा त्यसबाट मात्रै सम्भव भएन ।

त्यही कठिन अवस्थामा ड्रोन राहत ढुवानीको भरपर्दो माध्यम बन्न थालेको अध्यक्ष तामाङ बताउनुहुन्छ । “प्रविधिको विकासले कति सजिलो हुने रहेछ भन्ने अहिले महसुस भयो,” उहाँ भन्नुहुन्छ, “नत्र सामान यहाँ ल्याउन धेरै गाह्रो भइरहेको थियो ।”

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार अहिले ड्रोनमार्फत औषधि, ग्यास र खाद्यान्नजस्ता अत्यावश्यक सामग्री प्रभावित बस्तीमा पुर्‍याउन थालिएको छ ।सडकले साथ छाडेको अवस्थामा आकाशमार्फत सामग्री पुर्‍याउन सकिँदा राहत वितरण केही सहज भएको उहाँको भनाइ छ ।गाउँपालिका उपाध्यक्ष चण्डिका तामाङ भने बाढीपछि आमाछोदिङमो नाकाबन्दीजस्तै अवस्थामा पुगेको बताउनुहुन्छ । सडक र विद्युत् दुवै अवरुद्ध हुँदा दैनिक जीवन कष्टकर बनेको उहाँको भनाइ छ । ड्रोनका कारण वडा नं. १ हाकुमा राहत पुर्‍याउन केही सहज भए पनि धुन्चेबाट अझ टाढा रहेका वडा नं. २ नेसिङ, वडा नं. ३ गत्लाङ, वडा नं. ४ गोल्जुङ र वडा नं. ५ चिलिमेमा ड्रोनबाट समेत सामग्री पुर्‍याउन कठिन भइरहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार प्रभावित परिवारलाई हालसम्म एक बोरा चामल मात्र उपलब्ध गराइएको छ । सडक अवरुद्ध हुँदा बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यसमेत अत्यधिक बढेको छ । रु दुई हजार सात सय पर्ने एक बोरा चामललाई रु ११ हजारसम्म तिर्नुपरेको उहाँको भनाइ छ । “रु २० हजारको सामान ल्याउन रु दुई लाखसम्म तिर्नुपर्ने अवस्था छ,” उहाँले भन्नुभयो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीका अनुसार स्थलमार्ग तत्काल सञ्चालन गर्न नसकिने र कतिपय ठाउँमा हेलिकप्टरबाट समेत सामग्री पुर्‍याउन कठिन भएपछि राहत ढुवानीमा ड्रोनको प्रयोग सुरु गरिएको हो । उहाँका अनुसार सडक सम्पर्क टुटेका बस्तीमा तत्काल आवश्यक सामग्री पुर्‍याउन ड्रोन उपयोगी देखिएको छ ।प्राधिकरणका उपसचिव रामबहादुर केसीका अनुसार धुन्चेबाट हाकुबेँसीसम्म राहत सामग्री पुर्‍याउन चारवटा ड्रोन प्रयोग भइरहेका छन् । तीमध्येका ड्रोनले एकपटकमा करिब ८० किलोग्रामसम्म सामग्री बोक्न सक्छन् । प्राधिकरणका अनुसार प्रयोग भइरहेको ड्रोनको क्षमता करिब एक सय किलोग्रामसम्म भार बोक्ने रहेको छ ।

खाद्यान्न, ग्यास, औषधिलगायत सामग्री चरणबद्ध रूपमा प्रभावित क्षेत्रमा पठाउन ड्रोन उपयोगी भएको प्राधिकरणले जनाएको छ । विशेषगरी हेलिकप्टरबाट ढुवानी गर्न कठिन हुने ग्यास सिलिन्डरलगायत सामग्री निश्चित परिमाणमा ड्रोनमार्फत पठाउन सकिएको छ । यद्यपि ठूलो परिमाणमा राहत सामग्री ढुवानी, घाइतेको उद्धार र लामो दूरीको ओसारपसारका लागि हेलिकप्टरको आवश्यकता भने कायमै छ ।

बाढी प्रभावित क्षेत्रमा ड्रोनको प्रयोगले नेपालमा विपद् व्यवस्थापनको नयाँ सम्भावना पनि देखाएको छ । यसअघि २०७२ सालको भूकम्पपछि क्षतिको मूल्याङ्कन, सम्पदा अभिलेखीकरण, पहिरो नक्साङ्कन तथा पुनर्निर्माणको योजना बनाउन ड्रोन प्रयोग गरिएको थियो । पछिल्लो समय भने राहत तथा उद्धार, हिमालमा सामग्री ढुवानी, नक्साङ्कन, सीमा निगरानी र आपत्कालीन सेवामा समेत यसको प्रयोग विस्तार हुँदै गएको छ ।

भोटेकोशी बाढीले जमिनका बाटा भत्काइदिएपछि आमाछोदिङमोमा अहिले आकाश नै राहतको बाटो बनेको छ । सडक र पुल पुनः निर्माण भएर नियमित आपूर्ति नफर्किएसम्म ड्रोनले विकट बस्तीका नागरिकका लागि जीवन जोगाउने एउटा नयाँ सहारा बनेर काम गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्