नुवाकोटको रातोमाटेबाट सुरु भयो ऊर्जा क्रान्तिको नयाँ अध्याय, एमसीए–नेपालको प्रसारण लाइन आयोजनाको शिलान्यास



नुवाकोट, जेठ २८ । नेपालको ऊर्जा सुरक्षा, विद्युत व्यापार विस्तार तथा आर्थिक विकासको दीर्घकालीन आधार तयार गर्ने लक्ष्यसहित बहुप्रतीक्षित एमसीए–नेपाल विद्युत प्रसारण आयोजना औपचारिक रूपमा निर्माण चरणमा प्रवेश गरेको छ। नुवाकोटको बेलकोटगढी नगरपालिका–स्थित रातोमाटेमा बुधबार आयोजित विशेष समारोहमा आयोजनाको शिलान्यास गरिएको हो।

नेपाल सरकारका अर्थ सचिव तथा एमसीए–नेपाल सञ्चालक समितिका अध्यक्ष डा. घनश्याम उपाध्याय, अमेरिकी कार्यबाहक राजदूत स्कट अर्बम, एमसीसीका आवासीय राष्ट्रिय निर्देशक डायन फ्रान्सिस्को, नेपाल विद्युत प्राधिकरणका कार्यबाहक कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ तथा एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर बिष्टले संयुक्त रूपमा शिलान्यास गर्दै आयोजनाको औपचारिक सुरुवात गरेका हुन्।

अमेरिकी सरकारको ५० करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९ करोड ७० लाख अमेरिकी डलर बराबरको लगानीमा सञ्चालन भइरहेको ऐतिहासिक कम्प्याक्ट कार्यक्रमअन्तर्गत नुवाकोटको रातोमाटे, तनहुँको नयाँ दमौली र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को न्यू बुटवलमा ४०० केभी क्षमताका अत्याधुनिक सबस्टेशन निर्माण गरिनेछ। यी सबस्टेशनलाई जोड्ने गरी कुल २९७ किलोमिटर लामो प्रसारण लाइन निर्माण हुने जनाइएको छ।

आयोजनाअन्तर्गत न्यू बुटवल सबस्टेशनका लागि ३५५.१० लाख अमेरिकी डलर, रातोमाटे सबस्टेशनका लागि ५१६ लाख अमेरिकी डलर तथा नयाँ दमौली सबस्टेशनका लागि ३८८.९० लाख अमेरिकी डलर बराबरको लगानी हुने बताइएको छ। प्रसारण लाइनलाई चारवटा मुख्य खण्डमा विभाजन गरिएको छ, जसमा १८ किलोमिटर सीमापार प्रसारण लाइन तथा २७९ किलोमिटर आन्तरिक प्रसारण लाइन समावेश छन्।

कार्यक्रममा एमसीए–नेपालका प्रतिनिधिहरूले टेक्नो इलेक्ट्रिक एण्ड इन्जिनियरिङ कम्पनी लिमिटेड, आशिष–भोभ्लर संयुक्त उपक्रम तथा एन्जेलिक–स्किपर संयुक्त उपक्रम जस्ता प्रतिष्ठित निर्माण कम्पनीहरू आयोजनाको कार्यान्वयनमा संलग्न रहेको जानकारी दिएका थिए।

ऊर्जा पूर्वाधारसँगै सडक क्षेत्रको स्तरोन्नति र आवधिक मर्मतलाई पनि एमसीए–नेपालले प्राथमिकतामा राखेको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत धानखोला–लमही सडक खण्डको करिब ४० किलोमिटर सडक स्तरोन्नतिका लागि २ करोड अमेरिकी डलर बराबरको निर्माण सम्झौता सम्पन्न भइसकेको जनाइएको छ। उक्त सडकमा अत्याधुनिक ‘फुल–डेप्थ रिक्लेमेशन’ र ‘सुपरपेभ’ प्रविधि प्रयोग गरिनेछ, जसले दाङ र अर्घाखाँची क्षेत्रका स्थानीय सरकार तथा सर्वसाधारणलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।

त्यसैगरी चितवनको नारायणघाट–मुग्लिङ सडक खण्डको आवधिक मर्मतका लागि डिजाइन कार्य जारी रहेको र आगामी आर्थिक वर्षभित्र बोलपत्र आह्वान गर्ने तयारी भइरहेको जानकारी दिइयो। सडक विभाग र सडक बोर्ड नेपालको क्षमता अभिवृद्धिका लागि प्रयोगशाला स्थापना तथा प्राविधिक परामर्शदाता परिचालनको काम समेत अघि बढाइएको छ।

आयोजना कार्यान्वयनका क्रममा स्थानीय समुदायको हितलाई विशेष महत्व दिइएको जनाउँदै रातोमाटे सबस्टेशन निर्माणबाट प्रभावित २७० स्थानीय बासिन्दाका लागि कृषि तथा व्यावसायिक सीपमूलक तालिम सञ्चालन गरिएको जानकारी गराइयो। प्रसारण लाइन विस्तारका क्रममा प्रभावित करिब एक हजार पाँच सय स्थानीयका लागि पुनःस्थापना तथा जीविकोपार्जन सुधार कार्यक्रम पनि अघि बढाइएको छ।

प्रसारण लाइनका टावर निर्माणका लागि आवश्यक निजी जग्गा प्राप्ति र रुख गणनाको कार्य १० जिल्लामा सम्पन्न भइसकेको छ। नवलपरासी क्षेत्रमा रुख कटानका लागि मन्त्रिपरिषद्बाट स्वीकृति समेत प्राप्त भइसकेको जनाइएको छ।

नेपालमा उत्पादन हुँदै गएको विद्युतलाई राष्ट्रिय तथा अन्तरदेशीय बजारसम्म पुर्‍याउन सक्षम प्रसारण पूर्वाधार निर्माण गर्ने लक्ष्यसहित अघि बढाइएको यो आयोजना ऊर्जा सुरक्षा, औद्योगिक विस्तार, लगानी प्रवर्द्धन तथा आर्थिक वृद्धिको महत्वपूर्ण आधार बन्ने विश्वास गरिएको छ। रातोमाटेबाट सुरु भएको यो अभियानले नेपालको ऊर्जा क्षेत्रलाई नयाँ युगतर्फ डोर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्