नेपाल पत्रकार महासंघ नुवाकोटको नेतृत्व गजुरेललाई



नुवाकोट, असार १ । नेपाल पत्रकार महासंघ नुवाकोट शाखाको अध्यक्ष पदको दोस्रो कार्यकाल रामहरि गजुरेलले सम्हालेका छन्।

महासंघको २७औँ महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा अध्यक्ष पदका प्रत्याशी नवराज सुवेदी र रामहरि गजुरेलले समान ३३/३३ मत प्राप्त गरेपछि दुवैजनालाई विजयी घोषणा गर्दै कार्यकाल बराबरी बाँड्ने सहमति अनुसार प्रमाणपत्र प्रदान गरिएको थियो।

सोही व्यवस्थाअनुसार पहिलो डेढ वर्षको कार्यकाल सुवेदीले पूरा गरेपछि आइतबारदेखि गजुरेलले अध्यक्षको जिम्मेवारी सम्हालेका हुन्।उनको कार्यकाल आगामी डेढ वर्ष रहनेछ। नुवाकोटमा रहेर राष्ट्रिय सञ्चारमाध्यम तथा जिल्लास्तरबाट पत्रकारिता गर्दै आएका गजुरेल श्रमजीवी पत्रकारका रूपमा परिचित छन्। उनी प्रेस सेन्टर नुवाकोटका पूर्वअध्यक्ष समेत हुन्।

पदबहालीपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा अध्यक्ष गजुरेलले जिल्लाका सञ्चारमाध्यमको हकहित संरक्षण, पत्रकारिताको शुद्धीकरण तथा समाजमा पत्रकारिता क्षेत्रप्रतिको विश्वास अभिवृद्धि गर्ने विषयलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

यसअघि अध्यक्ष सुवेदीको कार्यकालमा पनि पत्रकारहरूको हकहितका पक्षमा उल्लेखनीय काम भएको भन्दै जिल्लाका सञ्चारकर्मीहरूले उनको योगदानको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्