दसौँ राष्ट्रिय खेलकुदका लागि रङ्गशालामा मिडिया सेन्टर स्थापना
काठमाडौं,मंसिर ८ । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचारप्रसारलाई व्यवस्थित बनाउन कर्णाली प्रदेश रङ्गशालामा मिडिया सेन्टर स्थापना गरिएको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेलले मङ्गलबार मिडिया सेन्टरको औपचारिक उद्घाटन गर्नुभएको हो।
प्रतियोगिताका समाचार सङ्कलन तथा सम्प्रेषणमा खटिने सञ्चारकर्मीलाई सहज रूपमा काम गर्ने वातावरण उपलब्ध गराउने उद्देश्यले मिडिया सेन्टर स्थापना गरिएको राष्ट्रिय खेलकुद परिषद्की सदस्य एवं प्रचारप्रसार उपसमितिकी संयोजक मोनालिशा खम्बुले जानकारी दिनुभयो।

