सडक दुर्घटना, लागूऔषध र आत्महत्या न्यूनीकरणमा सामूहिक प्रयास आवश्यक : आईजीपी कार्की



बुटवल,असार १ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सोमबार आत्महत्या, लागूऔषध दुर्व्यसन तथा सडक दुर्घटना न्यूनीकरणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले जनचेतनामूलक अभियानलाई सफल बनाउन योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वहरूलाई प्रशंसापत्र प्रदान गर्नुका साथै ‘ह्याक फर सेफ्टी–२०८३’ प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने टोलीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो।

सम्बोधनका क्रममा उहाँले सडक दुर्घटना, लागूऔषध दुर्व्यसन र आत्महत्या नेपाली समाजका गम्भीर चुनौतीका रूपमा देखापरेको उल्लेख गर्दै यस्ता समस्याको न्यूनीकरणका लागि सञ्चालन गरिएका जनचेतनामूलक कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरीको मात्र प्रयास पर्याप्त नहुने भन्दै सबै सरोकारवाला निकायको सामूहिक प्रतिबद्धता र सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो।

प्रहरी महानिरीक्षक कार्कीले प्रविधिको प्रभावकारी प्रयोगमार्फत अपराध नियन्त्रण तथा अनुसन्धानलाई थप सफल बनाउन सकिने उल्लेख गर्दै सभ्य, सुरक्षित र शान्तिपूर्ण समाज निर्माणमा यसले महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो।

कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्य र अवधारणा प्रस्तुत गर्नुभएको थियो भने लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलका प्रहरी वरिष्ठ उपरीक्षक दयानिधि ज्ञवालीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो।

नेपाल प्रहरी केन्द्रीय सङ्गीत विद्यालयको ब्याण्ड प्रस्तुति, एसिड आक्रमण तथा जलनसम्बन्धी जनचेतनामूलक कार्यक्रम, लागूऔषध दुर्व्यसन, सडक दुर्घटना, आत्महत्या र बालविवाहविरुद्धका नाटक तथा लागूऔषध दुर्व्यसनबाट प्रभावित भई पुनःस्थापित व्यक्तिहरूका अनुभव प्रस्तुत गरिएको थियो। साथै ‘ह्याक फर सेफ्टी–२०८३’ को संक्षिप्त भिडियो पनि प्रदर्शन गरिएको थियो।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयद्वारा आयोजित कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, प्रदेशका सुरक्षा निकायका प्रमुख, सरकारी कार्यालयका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी, विद्यार्थी तथा सर्वसाधारणको सहभागिता रहेको थियो।

युवा, विद्यार्थी, अभिभावक तथा आम नागरिकसँग प्रत्यक्ष संवाद गर्दै साइबर अपराध, लागूऔषध दुर्व्यसन, सडक सुरक्षा, आत्महत्या न्यूनीकरण र डिजिटल सुरक्षाजस्ता विषयमा सचेतना अभिवृद्धि गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्