विश्वकपमा बेल्जियम र इजिप्ट बराबरी
एजेन्सी,असार २ । फिफा विश्वकपअन्तर्गत समूह ‘जी’ को पहिलो खेलमा बेल्जियम र इजिप्टले १–१ को रोमाञ्चक बराबरी खेलेका छन्।
इजिप्टले १९औँ मिनेटमा अग्रता लिएको थियो। कप्तान मोहम्मद सलाहको पासमा इमाम आशौरले करिब २० यार्ड टाढाबाट गरेको शक्तिशाली प्रहार बेल्जियमका गोलरक्षक थिबाउट कोर्टुवाले रोक्न सकेनन्। पहिलो हाफमा इजिप्टले अग्रता दोब्बर बनाउने अवसर पाए पनि मोस्तफा जिकोको प्रहारलाई कोर्टुवाले बचाउ गर्दै टोलीलाई थप क्षतिबाट जोगाए।
दोस्रो हाफमा बेल्जियमले खेलमा नियन्त्रण बढाउँदै दबाब सिर्जना गर्यो। ६६औँ मिनेटमा थोमस म्युनियरको लो क्रसलाई इजिप्टका रक्षक मोहम्मद हानीले आफ्नै पोस्टमा गोल गरेपछि खेल १–१ को बराबरीमा पुगेको थियो। बेल्जियमका वैकल्पिक खेलाडी रोमेलु लुकाकुको दबाबका कारण हानीबाट आत्मघाती गोल भएको थियो।
३४औँ जन्मदिन मनाइरहेका इजिप्टका कप्तान सलाहले दोस्रो हाफमा हेडरमार्फत गोल गर्ने अवसर पाए पनि कोर्टुवाले उत्कृष्ट बचाउ गरे। त्यसपछि आशौरले रिबाउन्डमा गरेको प्रहार पनि लक्ष्यमा जान सकेन।बेल्जियमका प्रशिक्षक रुडी गार्सियाले ६६औँ मिनेटमा टोलीका सर्वाधिक गोलकर्ता लुकाकुलाई मैदानमा उतारेका थिए। उनको आगमनपछि बेल्जियमको आक्रमण थप प्रभावकारी बनेको थियो। यसअघि केभिन डे ब्रुयनको फ्रिकिक प्रहार पोस्टको बाहिरी भागमा लागेको थियो।
सात पटकको अफ्रिकी च्याम्पियन इजिप्ट विश्वकप इतिहासमा पहिलो जितको खोजीमा भए पनि सफल हुन सकेन। सन् १९३४ मा पहिलो पटक विश्वकप खेलेको इजिप्टले यसअघिका आठ खेलमध्ये कुनै पनि जित्न सकेको थिएन। यो बराबरीसँगै इजिप्टले विश्वकपमा पराजय टारेको तेस्रो अवसर प्राप्त गरेको छ।
बराबरीपछि दुवै टोलीले समूह चरणको पहिलो खेलबाट एक–एक अंक बटुलेका छन्।

