गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९९ करोड ९९ लाख, पूर्वाधारमा उच्च प्राथमिकता



पोखरा, असार २ — गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रु ३२ अर्ब ९९ करोड ९९ लाखको बजेट सार्वजनिक गरेको छ।

सोमबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री जितबहादुर शेरचन ले बजेट प्रस्तुत गर्दै चालुतर्फ रु १२ अर्ब ७२ करोड ३७ लाख ७८ हजार र पुँजीगततर्फ रु २० अर्ब दुई करोड ६१ लाख २२ हजार विनियोजन गरिएको जानकारी दिनुभयो। कुल बजेटमध्ये चालु खर्च ३८ दशमलव ५६ प्रतिशत र पुँजीगत खर्च ६० दशमलव ६८ प्रतिशत रहेको छ। वित्तीय व्यवस्थापनका लागि रु २५ करोड छुट्याइएको छ।

बजेटका लागि आवश्यक स्रोत व्यवस्थापनतर्फ नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट रु सात अर्ब ८४ करोड ८२ लाख, राजस्व बाँडफाँटबाट रु १० अर्ब १६ करोड ४७ लाख ४८ हजार, रोयल्टी बाँडफाँटबाट रु ५१ करोड ४८ लाख, सशर्त अनुदानबाट रु तीन अर्ब ९३ करोड तीन लाख, समपूरक अनुदानबाट रु ५५ करोड ४६ लाख तथा विशेष अनुदानबाट रु ३९ करोड ५४ लाख प्राप्त हुने अनुमान गरिएको छ।

मन्त्री शेरचनका अनुसार प्रदेश सरकारको आन्तरिक राजस्वबाट रु पाँच अर्ब ८४ करोड १८ लाख ५२ हजार संकलन हुने अनुमान गरिएको छ। चालु आर्थिक वर्षका कार्यक्रम कार्यान्वयनपछि रु दुई अर्ब नगद मौज्दात रहने अपेक्षा गरिएको छ।

बजेटमा देखिएको रु एक अर्ब ७५ करोड स्रोत अभाव आन्तरिक ऋण परिचालनमार्फत पूर्ति गरिने प्रदेश सरकारले जनाएको छ। प्रदेश सरकारले आगामी वर्षको बजेटमार्फत विकास निर्माण, पूर्वाधार विस्तार तथा सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राखेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्