पेट्रोलियम पाइपलाइन परियोजनाको दोस्रो चरण अघि बढ्यो



काठमाडौं,असार ३ । सरकारले सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन तथा अत्याधुनिक भण्डारण टर्मिनल निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रक्रिया अगाडि बढाएको छ।

नेपाल–भारत सरकारबीचको जिटुजी सम्झौताअन्तर्गत इन्डियन आयल कर्पोरेसनको आर्थिक तथा प्राविधिक सहयोगमा परियोजना निर्माण हुन लागेको हो।

चारआली–सिलिगुडी पाइपलाइन र भण्डारणगृह निर्माणका लागि करिब १२ अर्ब ४४ करोड रुपैयाँ लगानी लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। मेचीनगर–१३ चारआलीमा निर्माण हुने अत्याधुनिक टर्मिनलको भण्डारण क्षमता १८ हजार ९ सय किलोलिटर रहनेछ।

करिब ४९.६ किलोमिटर लामो प्रस्तावित पाइपलाइनमध्ये १४.६ किलोमिटर नेपालतर्फ पर्नेछ। आठ इन्च व्यासको कार्बन स्टिलबाट निर्माण हुने पाइपलाइन जमिनमुनि गाडिनेछ। सुरक्षा तथा चुहावट नियन्त्रणका लागि स्काडा, क्याथोडिक प्रोटेक्सन र फाइबर अप्टिक सेन्सिङजस्ता आधुनिक प्रविधि जडान गरिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्