भारतीय मापदण्डका कारण नेपाली चिया उद्योग संकटमा, उद्योग बन्द गर्ने चेतावनी
काठमाडौं, असार ४ । भारतीय चिया बोर्डले लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ्ग प्रोसिजर’ (एसओपी) का कारण नेपाली चिया उद्योग गम्भीर संकटमा परेको भन्दै उद्योगीहरूले चिया उद्योग तथा बगान अनिश्चितकालका लागि बन्द गर्ने चेतावनी दिएका छन्।
नेपाल उद्योग वाणिज्य महासङ्घले भारततर्फ हुने चिया निर्यातमा देखिएको अवरोध तत्काल हटाउन कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरेको छ। भारतीय चिया बोर्डले मे १ देखि लागू गरेको नयाँ एसओपी तथा प्रत्येक खेपको अनिवार्य परीक्षण सम्बन्धी व्यवस्था व्यावहारिक नभएको व्यवसायीहरूको गुनासो छ।
नेपाल चिया उत्पादक सङ्घका महासचिव शुक्र दाहालका अनुसार नेपालमा उत्पादित सिटिसी तथा अर्थोडक्स चियाको वार्षिक कारोबार करिब १२ देखि १४ अर्ब रुपैयाँ रहेको छ। यसमध्ये पाँच अर्ब रुपैयाँभन्दा बढीको चिया भारत निर्यात हुँदै आएको थियो। निर्यातमा अवरोध आएपछि उद्योग सञ्चालनमै समस्या देखिएको उनले बताए।
नेपालको चिया उद्योगले ६० हजारभन्दा बढी कर्मचारी तथा मजदुरलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको छ। साथै, यस क्षेत्रबाट राज्यले वार्षिक करिब एक अर्ब रुपैयाँ राजस्व प्राप्त गर्दै आएको छ। निर्यात प्रभावित भएसँगै उद्योग, किसान र मजदुर सबै प्रभावित बनेका छन्।
महासङ्घले चिया क्षेत्र किसान, मजदुर र उद्यमीहरूको भविष्यसँग प्रत्यक्ष रूपमा जोडिएको संवेदनशील क्षेत्र भएकाले सरकारले यस विषयलाई उच्च प्राथमिकतामा राखी भारतसँग कूटनीतिक संवादमार्फत शीघ्र समाधान खोज्नुपर्ने माग गरेको छ।

