नुवाकोट पञ्चकन्यामा चार विकास योजनाको स्थलगत अनुगमन



नुवाकोट, असार ४ – पञ्चकन्या गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन भएका विभिन्न विकास योजनाको स्थलगत अनुगमन तथा निरीक्षण सम्पन्न गरेको छ।

गाउँपालिकाका उपाध्यक्ष तथा योजना अनुगमन समितिका संयोजक विमला केसीको संयोजकत्वमा सम्पन्न अनुगमनमा समितिका अन्य सदस्यहरूको समेत सहभागिता रहेको थियो।

अनुगमनका क्रममा नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार विकास विभागमार्फत हस्तान्तरण भई गाउँपालिकाले कार्यान्वयन गरेको वडा नं. ४ स्थित त्रिरत्न छोइलिङ गुम्बा निर्माण योजना निरीक्षण गरिएको थियो।

त्यसैगरी, टोखा नगरपालिकाबाट वित्तीय हस्तान्तरण भई कार्यान्वयन गरिएको वडा नं. २ वडा कार्यालय परिसरको चौतारो पुनःनिर्माण तथा पार्क निर्माण सहयोग योजना, बागमती प्रदेश सरकारको वित्तीय सहयोगमा सञ्चालित तरकारी संकलन केन्द्र सहयोग योजना तथा गाउँपालिकाको स्वीकृत वार्षिक बजेटअन्तर्गत वडा नं. ४ मा निर्माणाधीन तौली गुम्बा वाल निर्माण योजनाको समेत स्थलगत निरीक्षण गरिएको गाउँपालिकाले जनाएको छ।

अनुगमन टोलीले योजनाहरूको प्रगति, गुणस्तर तथा कार्यान्वयन अवस्थाबारे जानकारी लिँदै निर्धारित मापदण्डअनुसार काम सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्