नुवाकोट तादीमा १५ दिने अचार बनाउने तालिम सम्पन्न, महिलालाई स्वरोजगारमा टेवा पुग्ने अपेक्षा
नुवाकोट, असार ४ – तादी गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा सञ्चालन गरिएको १५ दिने अचार बनाउने तालिम सम्पन्न भएको छ।
गृहिणी महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत जेठ १७ गतेदेखि ३१ गतेसम्म सञ्चालन गरिएको तालिम तादी गाउँपालिकाकी उपाध्यक्ष सन्जु प्याकुरेलको अध्यक्षता तथा वडा अध्यक्ष सरोज भण्डारीको विशेष आतिथ्यतामा सम्पन्न भएको हो।
तालिममा सहभागी गृहिणी महिला दिदीबहिनीहरूले सक्रिय रूपमा सहभागिता जनाएका थिए। समापन कार्यक्रममा तालिम सफलतापूर्वक पूरा गरेका सहभागीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो।
आयोजकका अनुसार तालिमबाट प्राप्त ज्ञान र सीपले महिलाहरूलाई स्वरोजगार, आत्मनिर्भरता तथा आयआर्जनका विभिन्न गतिविधिमा संलग्न हुन सहयोग पुग्ने अपेक्षा गरिएको छ। यस्ता सीपमूलक कार्यक्रमले महिलाको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।

