विवाहको सपना, ठगीको जाल : सामाजिक सञ्जालमार्फत १५ लाखभन्दा बढी रकम असुल्ने दम्पती पक्राउ
काठमाडौं,असार ४ । सामाजिक सञ्जालले मानिसहरूलाई नजिक ल्याउने माध्यम बनेको छ। तर यही माध्यमको दुरुपयोग गर्दै विवाहको प्रलोभन देखाएर लाखौं रुपैयाँ ठगी गर्ने गिरोह सक्रिय रहेको तथ्य फेरि उजागर भएको छ। पछिल्लो घटनामा एक महिलालाई अमेरिका लैजाने आश्वासन दिँदै १५ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा एक दम्पती पक्राउ परेका छन्।
प्रहरीका अनुसार ठगीको यो योजनाबद्ध खेल टिकटकबाट सुरु भएको थियो। “प्रिन्स तामाङ” नामको टिकटक आइडी (@princetamang431) प्रयोग गर्दै एक व्यक्तिले आफू अमेरिकामा बस्ने नेपाली भएको तर नेपाली भाषा बोल्न नजान्ने भन्दै अंग्रेजी भाषामै कुराकानी सुरु गरेका थिए। उनले आफ्नो अनुहारसमेत नदेखाई पीडितसँग विश्वासको सम्बन्ध बनाउँदै लगे।
समयसँगै सम्बन्ध गाढा भएपछि उनले विवाह गर्ने र अमेरिका लैजाने आश्वासन दिए। त्यसपछि आफ्नो “बहिनी” भन्दै सरगम तामाङ नाम प्रयोग गरिएको ह्वाट्सएप नम्बरमा सम्पर्क गराइयो। पीडितले विश्वास गर्दै जाँदा विभिन्न बहाना र आवश्यकता देखाइ पटक–पटक रकम मागिएको थियो। यही विश्वासको फाइदा उठाउँदै आरोपितहरूले पीडितबाट जम्मा १५ लाख १० हजार ५०० रुपैयाँ असुलेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
प्रहरीको प्राविधिक अनुसन्धान तथा डिजिटल विश्लेषणबाट “प्रिन्स तामाङ” को वास्तविक परिचय खुलेको थियो। अनुसन्धानका क्रममा उक्त आइडी सञ्चालन गर्ने व्यक्ति स्याङ्जाको भीरकोट नगरपालिका–२ घर भई हाल काठमाडौंको माछापोखरी बस्दै आएका ३९ वर्षीय संजिव नेपाली रहेको पत्ता लागेको प्रहरीले जनाएको छ।
त्यस्तै, सरगम तामाङ बनेर कुराकानी गर्ने व्यक्ति उनकी श्रीमती काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१२ घर भई हाल काठमाडौं माछापोखरी बस्ने ३३ वर्षीया अनुष्का भन्ने सरिता पराजुली रहेको खुलेको छ।
नेपाल प्रहरीको साइबर ब्यूरोबाट खटिएको टोलीले असार २ गते दुवै जनालाई पक्राउ गरेको हो। पक्राउ परेका उनीहरूमाथि विद्युतीय माध्यमसम्बन्धी ठगी अपराध अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ। काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सामाजिक सञ्जालमा बढ्दो प्रेम–ठगी
पछिल्ला वर्षहरूमा फेसबुक, टिकटक, इन्स्टाग्राम तथा ह्वाट्सएपमार्फत हुने ‘रोमान्स स्क्याम’ अर्थात् प्रेम र विवाहको बहानामा हुने ठगीका घटना बढिरहेका छन्। अपराधीहरूले विदेशमा बस्ने, सम्पन्न जीवनशैली भएको वा विवाहका लागि इच्छुक व्यक्ति भएको नाटक गर्दै पीडितको विश्वास जित्ने र अन्ततः ठूलो रकम असुल्ने प्रवृत्ति बढ्दो छ।
प्रहरीले सामाजिक सञ्जालमार्फत अपरिचित व्यक्तिसँग सम्बन्ध गाँस्दा सतर्क रहन, आर्थिक कारोबार नगर्न तथा शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गरेको छ।

