आज प्रतिनिधिसभा बैठक बस्दै, बजेटबारे उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने



काठमाडौँ, असार ४ — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशनको २६औँ बैठक आज बिहान ११ बजे बस्दैछ। संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित दैनिक कार्यसूचीअनुसार बैठकमा विनियोजन विधेयक (बजेट), २०८३ माथि उठेका प्रश्नहरूको जवाफ दिने तथा विधेयक पारित गर्ने तयारी गरिएको छ।

कार्यसूचीअनुसार बजेटमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन्। आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र रक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ।

त्यसैगरी शिक्षा तथा खेलकुद मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय तथा राष्ट्रपतिको कार्यालयसँग सम्बन्धित शीर्षकहरूमा समेत सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ।

बैठकमा विभिन्न मन्त्रालयहरूको बजेट शीर्षकमाथि सांसदहरूले दर्ता गराएका खर्च कटौती प्रस्तावहरू पनि निर्णयार्थ प्रस्तुत गरिनेछन्। सभामुखले ती प्रस्तावहरू सदनसमक्ष निर्णयका लागि पेश गर्नेछन्। खर्च कटौती प्रस्ताव राख्ने सांसदहरूको संख्या २० रहेको छ।

आजकै बैठकमा विनियोजन विधेयक, २०८३ का दफाहरू निर्णयार्थ प्रस्तुत गरिनेछ। त्यसपछि अर्थमन्त्री स्वर्णिम वाग्लेले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सदनमा पेश गर्ने कार्यक्रम रहेको सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिएका छन्।

सरकारले चालु आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमाथिको छलफल निष्कर्षमा पुगेसँगै आजको बैठकबाट विनियोजन विधेयक पारित गर्ने लक्ष्य राखिएको छ।

प्रतिक्रिया दिनुहोस्