नुवाकोटको थानसिङ फाँटमा विद्युतीय सवारी उद्योगको सपना, १० अर्ब लगानी भित्र्याउने तयारी
• भरतसन्तोषी लामा
नुवाकोट, असार ४ – नुवाकोटको लिखु गाउँपालिका–६ स्थित थानसिङ फाँट यतिबेला सम्भावित औद्योगिक केन्द्रका रूपमा चर्चामा छ। लामो समयदेखि कृषि उत्पादनका लागि परिचित यो क्षेत्र अब विद्युतीय सवारीसाधन (ईभी) निर्माण उद्योगको सम्भावित गन्तव्य बन्ने संकेत देखिएको छ ।
स्थानीय जनप्रतिनिधिका अनुसार लगानी बोर्डको समन्वयमा चिनियाँ लगानीकर्ताको टोलीले यहाँ विद्युतीय गाडी निर्माण उद्योग स्थापना गर्ने सम्भावनाबारे अध्ययन थालेको हो । लिखु गाउँपालिका–६ का वडाध्यक्ष सुमन भण्डारीले साझापथसँग कुरा गर्दै कुमालठाटीदेखि रामेश्वर धाम आसपासको क्षेत्रमा उद्योग स्थापना गर्न उपयुक्त जग्गाको सर्वेक्षण भइरहेको जानकारी दिए।
उनका अनुसार तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारले यस परियोजनाको प्रारम्भिक स्वीकृति प्रदान गरिसकेको थियो। अहिले परियोजनालाई मूर्त रूप दिन आवश्यक जग्गा पहिचान र प्राविधिक अध्ययनको काम अघि बढाइएको छ।
बुधबार चिनियाँ विज्ञहरूको टोलीले थानसिङ क्षेत्रमा स्थलगत निरीक्षणसमेत गरेको थियो। प्रारम्भिक चरणमा करिब १० अर्ब रुपैयाँ लगानी भित्र्याएर विद्युतीय भ्यान र बस उत्पादन गर्ने उद्योग स्थापना गर्ने योजना रहेको बताइएको छ। उद्योग सञ्चालनका लागि करिब ७०० रोपनी जग्गा आवश्यक पर्ने अनुमान गरिएको छ।
अध्ययन टोलीका सदस्यहरूले उत्पादन हुने सवारीसाधन नेपालभित्र मात्र नभई दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रहरूमा समेत निर्यात गर्ने लक्ष्य रहेको बताएका छन्। सुरुवाती चरणमा आवश्यक उपकरण तथा सामग्री चीनबाट ल्याइए पनि दोस्रो चरणमा गाडीका विभिन्न पार्टपुर्जा यहीँ उत्पादन गर्ने योजना रहेको जनाइएको छ।
परियोजनाले स्थानीय स्तरमा रोजगारी सिर्जना, आर्थिक गतिविधि विस्तार तथा औद्योगिकीकरणलाई नयाँ गति दिने अपेक्षा गरिएको छ। गाउँपालिकाका अध्यक्ष धुर्व श्रेष्ठका अनुसार प्रस्तावित उद्योग क्षेत्रभित्र केही सार्वजनिक जग्गा तथा व्यक्तिले भोगचलन गरिरहेका क्षेत्रसमेत परेकाले सार्वजनिक जग्गा खाली गर्न ३५ दिने सूचना जारी गरिएको छ।
स्थानीयवासीले समेत परियोजनाप्रति आशा व्यक्त गरेका छन्। यदि आवश्यक जग्गा व्यवस्थापन भई उद्योग स्थापना सफल भएमा नुवाकोट मात्र होइन, समग्र बागमती प्रदेशकै औद्योगिक विकासमा नयाँ अध्याय थपिने विश्वास गरिएको छ।
कृषिप्रधान क्षेत्रका रूपमा परिचित थानसिङ फाँट अब हरियाली खेतबारीसँगै आधुनिक विद्युतीय सवारी उद्योगको केन्द्र बन्ने सम्भावनातर्फ अघि बढिरहेको छ। परियोजनाले पूर्णता पाएमा यसले नेपाललाई हरित प्रविधिमा आधारित औद्योगिक उत्पादनतर्फ उन्मुख गराउने एउटा महत्वपूर्ण कदमका रूपमा इतिहास रच्न सक्नेछ।


