कृष्णबहादुर महराले सक्रिय राजनीति त्यागे, कारण यस्तो



काठमाडौँ, असार ४ — नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले सक्रिय राजनीति छाडेको घोषणा गरेका छन्।

बिहीबार जारी विज्ञप्तिमार्फत महराले विगत ४८ वर्षदेखि निरन्तर संलग्न रहेको नेपाली कम्युनिस्ट आन्दोलनको सक्रिय राजनीतिक भूमिकाबाट बिदा लिएको जानकारी दिएका हुन्। उनले पार्टीको साधारण सदस्यका रूपमा भने निरन्तर रहने बताएका छन्।

महराले आफू ‘एट्रोफी’ सम्बन्धी नसा तथा मांसपेशीको समस्याबाट पीडित रहेको उल्लेख गर्दै नियमित उपचार, थेरापी र औषधि सेवनका बाबजुद स्वास्थ्यमा अपेक्षित सुधार आउन नसकेको बताएका छन्।

स्वास्थ्य अवस्थाले सक्रिय राजनीतिक जिम्मेवारी निर्वाह गर्न आवश्यक साथ दिन नसकेकाले यस्तो निर्णय लिनुपरेको उनको भनाइ छ। उनले आफ्नो निर्णय कुनै राजनीतिक असन्तुष्टि, गुनासो वा वैचारिक विचलनका कारण नभई विशुद्ध स्वास्थ्य अवस्थाले सिर्जना गरेको बाध्यात्मक परिस्थिति भएको स्पष्ट पारेका छन्।

लामो समयदेखि नेपाली कम्युनिस्ट आन्दोलनमा सक्रिय रहँदै आएका महराको यो निर्णयलाई राजनीतिक वृत्तमा अर्थपूर्ण घटनाका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्